धनगढी पोष्ट
शनिबार, ०४ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस डडेल्धुराको प्रदेशसभा अधिवेसन क्षेत्रिय सभापतिको अनुपस्थितीमै सम्पन्न भएको छ ।
क्रियाशिल सदस्यता वितरणमा छानविन गरिनुपर्ने माग गर्दै डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन् । तर डडेल्धुरामा भने शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार समपन्न प्रदेशसभा अधिवेसनबाट डडेल्धुरा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति प्रमुख गणेश राजभट्टको प्यानल सर्वसम्मत चयन भएको छ ।
यसैगरी यस्तै प्रदेशसभा क्षेत्र १ को सभापतीमा कैलाश कुमार पाण्डेय निर्वाचित भएका छन् । परशुराम नगरपालिकाको– १२ स्थित परशुराम रंगशालामा सभापति पदका लागि भएको निर्वाचनमा जीतबहादुर विष्टलाई हराउँदै पाण्डेय विजयी भएका हुन् ।
अनशनरत डडेल्धुराका सभापति कर्ण मल्ल, क्षेत्रीय सभापतिद्वय भट्ट र बुढासहितका नेता–कार्यकर्ताहरुले अनसनको सुनुवाइ नगरेर एकलौटी रुपमा महाधिवेशन प्रक्रिया सुरु गरिएको प्रति आपत्ति जनाएका छन् । दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिको अनुपस्थितिमा भएको अधिवेशन अवैध भएको अनशनरत जिल्ला कार्य समिति सदस्य गोकुल शाहीले बताए ।