धनगढी पोष्ट
मङ्गलबार, ०७ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । कांग्रेसको सोमबार सांझ सम्पन्न सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा परशुराम नगरपालिकाका मेयर समेत रहेका साउंद विजयी भएका हुन ।
सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउंदले ७ सय ३४ मत ल्याए भने उनका प्रतिद्वन्दी ठकुराठीले ७६ मत मात्रै पाए । यसैगरी उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।
यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी साउँद प्यानलका हुन । जिल्ला अधिवेसनमा कांग्रेसका वर्तमान सभापति कर्ण मल्ल समुहले भने उपस्थित रहेको थिएन । सभापति मल्लसहित नेताहरु केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् ।
जिल्लाबाट पठाएको क्रियाशील सदस्यताको सूची हटाएर केन्द्रबाट नयां नाम थपेपछि मल्लसहित उनी पक्षले डडेल्धुरा अधिवेशनमा भाग लिन नमानेको हो ।
भदौ २५ गते देउवा पक्षले डडेल्धुरामा राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी हिसाबले वडा अधिवेशन गरेको आरोप मल्ल पक्षको छ ।