धनगढी पोष्ट
आइतबार, १२ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुरको बेलौरीमा विगत ४ बर्ष देखी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका शौरभबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी, डकैती, गुण्डागर्दी लगायत अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा सिंह पक्रा परेका हुन् । गत कात्र्तिक ७ गते उनको योजनामा बेलौरी बजार पानी ट्यांकी नजिक रहेको डिडी अटोमोबाइल्स शोरूमबाटै तीन वटा मोटरसाइकल समेत चोरी भएको प्रहरीले जनाएको छ ।
सोही चोरी पछि फरार रहेका शैल भनिने शौरभबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई लालझाडी चान्देवस्थित घरबाट आइतबार बिहान ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चोरीएका ३ वटा पल्सर मोटरसाइकल प्रहरीले बरामद गरी चोरीमा सलंग्न बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारस बिष्ट र किरण नाथलाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरिसकेको छ ।
आइतबार पक्राउ परेका सिंहसहित नरी बिष्ट भन्ने नरेन्द्र जोशी, सतिस बोहरा र भुवन ऐर गरी ४ जना प्रहरीको फरार सूचीमा रहेका थिए । सिंह पकाउ परिसकेपछि अब बाँकी ३ फरारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
सो समूहले जिल्लामा विभिन्न अपराधिक घटना निम्ताउने गरेको उनले बताए । उक्त समूहविरुद्ध जिप्रका कञ्चनपुरमा २२ पुस २०७४ मा ज्यान मार्ने उद्योग दर्ता भएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय झलारीमा चोरीका ३ मुद्दा, इलाका प्रहरी कार्यालय बेलौरीमा चोरीका २ मुद्दा र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागुऔषध मुद्दा दर्ता छ ।