धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

नेपालमा ‘ओमिक्रोन’ फैलिन नदिन सरकारले बढायो निगरानी

नेपालमा ‘ओमिक्रोन’ फैलिन नदिन सरकारले बढायो निगरानी

धनगढी । विश्वका केही देशम देखापरेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनफैलिन नदिन सरकारले निगरानी बढाएको छ ।

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । अहिले ओमिक्रोनका विरामी दक्षिण अफ्रिका सहित बेलायत, हङकङल गायतका देशमा देखा परेका छन् । सो भाइरस नेपालमा फैलन नदिन सरकारले सतर्कता अपनाउन सुरु गरेको हो । विज्ञहरुले नेपाल पनि ओमिक्रोन भाइरसको उच्च जोखिम रहेको विष्लेषण गर्न थालेका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने समेत गरेको छ ।

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को बैठक बसिरहेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ ।

नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा क्वरेण्टीन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्नघोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको उनको भनाइ छ ।

नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उनको जोड छ । नेपालमै भेरियन्ट पहिचान गर्न सक्ने भएकाले कोरोना सङ्क्रमण देखिएका यात्रुको विवरणको आधारमा जिन सिक्वेसिङ गरिरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।