धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली, कञ्चनपुरमा धानको कोटा निर्धारण गरियो

कैलाली, कञ्चनपुरमा धानको कोटा निर्धारण गरियो
file photo

धनगढी खाद्य व्यवस्था तथा व्यापार कम्पनिले कैलाली, कञ्चनपुरमा आर्थिक बर्ष २०७८÷०७९ का लागि धान खरिदको कोटा निर्धारण गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक बर्षमा कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ हजार क्वीन्टल धान खरिद गर्ने गरी कोटा निर्धारण गरिएको हो । तर धान खरिद कहिले देखि गर्ने भन्ने बारेमा भने निर्णय नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडकी प्रदेश प्रमुख एन्जिला वस्नेतले बताइन् ।

बुधबार मात्रै केन्द्रले कैलाली, कञ्नपुरकामा धान खरिदका लागि कोटा तोकेर पठाएको छ, प्रदेश प्रमुख बस्नेतले भनिन्,‘अब कहिले देखि खरिद गर्ने भन्ने निर्णय जिल्ला प्रशासनले गर्नेछ, छिट्टै निर्णय हुन्छ होला ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले गत बर्षको भन्दा यस बर्ष धान खरिदको कोटा भने घटाएको छ । गत बर्ष कैलालीमा ६५ हजार ५ सय र कञ्चनपुरमा ७ हजार गरी ७३ हजार पाँच सय क्वीन्टल धान खरिद गरेको थियो । तर यस बर्ष भने जम्मा ४१ हजार क्वीन्टल धान मात्रै खरिद गर्ने गरी कोटा निर्धारण गरिएको छ ।

कार्तिकमा आएको बर्षाका कारण कैलाली कञ्चनपुरमा धान विग्रेका कारण यस बर्ष कोटा घटेर आएको हुन सक्ने कम्पनिकी प्रदेश प्रमुख बस्नेतले बताइन् । राम्रो धान पाइएमा कोटा थप पनि हुन सक्दछ, बस्नेतले भनिन्,‘तर यस बर्ष बर्षाका कारण धान विग्रेको हुन सक्ने भएका कारण कोटा घटाएको हु्न सक्दछ ।

यस बर्ष धान भित्र्याउने समयमा आएको बर्षा र बाढीका कारण धान राम्रो नहुने उनले बताइन् । खाद्य संस्थान तथा व्यापार कम्पनि लिमिटेडको धान खरिद गर्ने मापदण्ड भएको बताउँदै उनले बर्षाका कारण यस बर्ष मापदण्ड अनुसार धान पाउन समस्या हुन सक्ने बताइन् ।

उनका अनुसार संस्थानले १८ प्रतिशत भन्दा बढी चिस्यान भएको धान खरिद गर्दैन । यसैगरी धानमा २ प्रतित बढी धुलो भएमा र ५ प्रतिशत बढी टुक्रिएको भएमा समेत संस्थानले त्यसतो धान खरिद नगर्ने प्रदेश प्रमुख बस्नेतले बताइन् ।

खाद्य संस्थान कम्पनिले कैलालीका ६ (धनगढी, जोशीपुर, भजनी, महुरानियाँ, मोनिकापुर र टिकापुर) र कञ्चनपुरको महेन्द्रनगरबाट धान खरिद गर्ने गर्न छ । कैलालीमा गत बर्ष सम्म ४ स्थानबाट मात्रै धान खरिद गर्ने गरेको कम्पनिले यस बर्ष महुरानियाँ र मोनिकापुर खरिद केन्द्र थपेको हो ।