धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गेटा आँखा अस्पतालद्वारा ५ सय जनाको निशुल्क आँखा परिक्षण

गेटा आँखा अस्पतालद्वारा ५ सय जनाको निशुल्क आँखा परिक्षण

धनगढी  । गेटा आँखा अस्पतालले कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित गुलरियामा ५ सय जनाको निशुल्क आँखा परिक्षण गरेको छ । 
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र लायन्स क्लब अफ एभरेष्टको आयोजना तथा ड्याक फाउण्डेशनको सहयोगमा सञ्चालित आँखा शिविरमा ५ सय ९ जनाको निशुल्क आँखा परिक्षण गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा बरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए । 
गुलरिया स्थित कंचन बहुमुखी क्याम्पसमा आयोजित शिविरमा परिक्षण गरिएका आँखाका विरामी मध्य ८८ जनालाई मोतिविन्दु लगायत आँखा सम्बन्धी रोग देखिएपछि उनिहरुलाई निशुल्क अप्रेसनका लागि गेटा आँखा अस्पतालमा पठाईएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए । उनका अनुसार शिविरमा  १ सय ८० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ, भने २ सय ४१ जनाको निःशुल्क औषधि उपचार गरिएको छ । 
कोरोनाको संक्रमणको जोखिमको कारणले लामो समय देखि उक्त स्थानमा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसक्ने अवस्थाका विरामि शिविरमा आएका थिए । कतिपयले स्वास्थ्य बीमा गराए पनि गेटामा सेवा पाइन्छ भन्ने जानकारी समेत नपाएकोमा त्यसतालाई पनि शिविरमा सेवा प्रदान गरिएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए । 
शिविरमा गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा संचालित शिविरमा १२ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए । उक्त शिविरमा लायनस क्लब अफ एभरेष्टका पदाधिकारीहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । 
गेटा आँखा अस्पताल तथा अन्तरगतका सबै शाखाहरुमा स्वास्थ्य बीमामा बिमितहरुको आँखाको निःशुल्क औषधि उपचार, अप्रेशन तथा एक हजार सम्मको चश्मा निःशुल्क उपलब्ध हुने गर्दछ । यसैगरी जेष्ठ नागरिकहरुको सम्वन्धित वडामा नै निःशुल्क स्वास्थ्य बीमा गरिने भए ता पनि सेवा ग्राहीहरुलाई जानकारी हुन नसकेकोले धेरै सेवाग्राहीहरु सेवाबाट बन्चित भई रहेका भेटिने गरेका नेत्र अधिकृत भट्टले बताए । 
सुदूरपश्चिममा अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा संचालित १७ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई ९ वटै जिल्लामा शिविर सञ्चालन गर्दै आएको छ । गेटा आँखा अस्पतालले  ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा दिने गरेको नेत्र अधिकृत भट्टले बताए ।