धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बाढीको क्षतिपुर्ति दिन प्रदेश सरकार अलमलमै

बाढीको क्षतिपुर्ति दिन प्रदेश सरकार अलमलमै

धनगढी । बाढी गएको दुई महिना पुग्न लागिसक्दा पनि किसानहरुलाई के र कसरी राहत दिने भन्ने निर्णयमा सुदुरपश्चिम सरकार अझै पुग्न सकेको छैन ।  क्षतिको बिबरण संकलन भैसकेपछि निर्णय गर्ने भनिरहेको भुमि व्यवस्था, कृषि तथा  सहकारी मन्त्रालयले गत कार्तिकको पहिलो हप्ता आएको बाढीबाट पुगेको क्षतिको बिबरण अझै  संकलन नै गरिसकेको छैन ।

बाढीबाट क्षति भोगेका किसानलाई कसरी सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको भुमि व्यवस्था, कृषि तथा  सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुस्मीले बताए । बाढीका कारण क्षति भोगेका किसानलाई राहत दिने वा क्षतिपूर्ति दिने भन्ने टुङ्गो लागेपछि अर्थ मन्त्रालयलाई त्यसै अनुसार बजेट माग गर्नु पर्ने हुन्छ, कुस्मीले भने, ‘भूमि व्यवस्था, कृषि मन्त्रालयसंग बजेट पनि अभाव छ ।

प्रदेश सरकारले धान बाहेक अन्य वालीमा भएको क्षतीमा मात्रै किसानलाई क्षतिपुर्ति दिने सोच बनाएको छ । धानको क्षतिपुर्ति संघिय सरकारले दिने घोषणा गरेको छ, सहायक सूचना अधिकारी कुस्मीले भने, ‘अन्य बाली तथा पशु चौपायामा भएको क्षतिमा प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ, त्यो काम तथ्याङ्क पुगेपछि अगाडी बढ्छ ।

 अन्य बाली तथा पशु चौपायामा भएको क्षतिको  क्षतिपुर्ति वा राहत दिन पनि मन्त्रालयसँग बजेटको अभाव रहेको छ । कुश्मीका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंग कृषि वाली रोगव्याधि तथा क्षति विवरण शीर्षकमा ४५ लाख बजेट मात्रै रहेको छ । तर बर्षाका कारण कृषि क्षेत्रमा मात्रै करोडौंंको क्षति भएका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट माग गर्नुपर्ने अवस्था आएको छ । यति धेरै क्षति हुन्छ भन्ने अनुमान नै थिएन, उनले भने, ‘अव अर्थसंग थप बजेट नमागि हामीले कृषकलाई राहत दिन सक्दैनौं ।

अझै पुगेन कृषि बालीको क्षतिको विवरण

बाढीका कारण सुदूरपश्चिममा भएको कृषि वालीमा भएकोे क्षतिको विवरण प्रदेस सरकारले अझै संकलन गर्न सकेको छैन । राहत संकलन नहुँदा सुदूरपश्चिममा किसानलाई क्षतिपूर्तिको प्रकृया अघि बढ्न सकेको छैन ।

बाढीले क्षति पु¥याएपछि क्षतिको विवरण संकलन गर्न सडक अभाव र झण्झटिलो कानूनी प्रावधानका कारण समस्या भएको अधिकारीहरुको भनाई छ । कृषि बालीमा तत्कालै क्षतिको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको थियो, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुस्मीले भने, ‘तर बाढी, पहिरोका कारण सडक सञ्जाल थिएन, संयन्त्र प्रभावित स्थानमा पुग्नै समय लाग्यो ।

उनले बाढीका कारण क्षति भएको कृषि वालीको एक चरणको तथ्याङ्क आएपछि जिल्लाबाट भेरिफाई भएर नआएको बताए । जिल्लामा भएको क्षतिको विवरण सम्बन्धित जिल्लाको विपद व्यवस्थापन समिति र कृषि ज्ञान केन्द्रबाट स्वीकृत भएर आउनु पर्ने प्रावधान रहेको छ ।

प्रारम्भिक विवरण अनुसार सुदूरपश्चिममा २ हजार ६ सय ३३ हेक्टरमा लगाइएको आलु, २ हजार ५ सय ६७ हेक्टर जमिनमा लगाइएको तरकारी, ४ हजार ९ सय १६ हेक्टरमा लगाइएको तोरी वाली, २ सय ९७ हेक्टरको केरा, ४७ हेक्टरको दलहन, १ हजार हेक्टरको कोदो२१ हेक्टरको उखु वालीमा कार्तिकमा आएको बाढी र पहिरोका कारण क्षति भएको छ ।

सूचना अधिकारी कुस्मीका अनुसार बाढीका कारण ५ करोड २६ लाख ६४ हजार मुल्य बराबरको आलु, ५ करोड १३ लाख ३६ हजार मुल्य बराबरको तरकारी, ९ करोड ८३ लाख २० हजा मुल्य बराबरको तोरी वाली, ५५ लाख ८० हजार मुल्य बराबरको केरा, ९ लाख ४० हजार मुल्य बराबरको दलहन, ४ लाख २० हजार मुल्य बराबरको उखु र ६ हजार मुल्य बराबरको मसला वाली क्षति भएको छ ।

बाढी पहिरोमा परेर सुदूरपश्चिममा १ हजार ८ सय ३६ पशु चौपायमा क्षति भएको प्रारम्भिक तथ्याङ्क छ, भने ३ लाख ३२ हजार ५ सय ५६ भुरा माछा बाढी पहिरोमा परेर नष्ट भएका तथा  ११ हजार दुई सय कुखुराका खोर, ५ हजार ८ सय ९२ गोठ, ८१ ट्रली पराल, ७२ हेक्टर घाँस नष्ट भएको प्रदेश सरकारको प्रारम्भिक तथ्याङ्क छ ।

सुदूरपश्चिममा दुई लाख २४ हजार ५ हेक्टरमा लगाइएको धानबाली नष्ट भएको प्रारम्भिक तथ्याङ्क छ । त्यस अनुसार प्रदेशमा १ अरब २४ करोड, ९५ लाख ८ हजार मुल्य बराबरको धान बाली कार्तिकमा आएको बाढीका कारण नष्ट भएको छ । तर एक पटक प्राप्त तथ्याङ्कमा पनर्विचार तथा छानविन गर्ने काम भइरहेका कारण एकिन तथ्याङ्क भने अझै नआएको कृषि मन्त्रालयका सहायक सूचना अधिकारी कुस्मीले बताए ।

उनका अनुसार कैलालीमा ९१ हजार ४ सय ४६ हेक्टर, कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर, डडेःधुरामा ६ हजार १ सय ८८ हेक्टर, डोटीमा १० हजार ७ सय १५ हेक्टर, अछाममा १६ हजार ७ सय ९० हेक्टर, बझाङमा १२ हजार ७ सय ७० हेक्टर, बाजुरामा ७ हजार दुई सय हेक्टर तथा बैतडीमा ९ हजार हेक्टरमा लगाइएको धानबाली बाढीका कारण नष्ट भएको प्रारम्भिक तथ्याङ्क छ ।