धनगढी पोष्ट बिहिबार, १० माघ २०८१   January 23, 2025

सुदूरपश्चिमबाट कांग्रेस सभापतिसहित पदाधिकारीमा दावि

सुदूरपश्चिमबाट कांग्रेस सभापतिसहित पदाधिकारीमा दावि

धनगढी । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट सभापति सहित महत्वपूर्ण पदाधिकारीमा नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् ।

कञ्चनपुर काँग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले महामन्त्री पदका लागि उम्मेद्वारी दिने तयारी सहित काठमाडौँमा सम्पर्क कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाएका छन् । सभापति देउवा निकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेद्वार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत प्रचारप्रसार अघि बढाइरहेका छन् ।

त्यसैगरी काँग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औँ महाधिवेशनमा पदाधिकारीको दौडमा छन् । उनले टिमको छलफल र टुङ्गोबाट आफू अघि बढ्ने निकटतस्थलाई बताइरहेको बताइएको छ । उनको दाबी पनि महामन्त्री पदमै रहेको काँग्रेस नेताको भनाइ छ । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । संस्थापन इतर समूहसित नजिक मानिएका विष्टले यसपटक जिल्लास्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गरेका थिए । विसं २०३२ को सरोफोरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औँ महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा छन् ।

यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट काँग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै छन् । बाजुराबाट यसअघि सहमहामन्त्रीमा काँग्रेस नेता बद्री पाण्डेले उम्मेद्वारी घोषाणा गरिसकेका छन् । उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाएका छन्। उनी रामचन्द्र पौडेल निकट नेता मानिन्छन् ।

त्यसैगरी दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकांक्षा देखाएको उनी निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेद्वारको आकांक्षीका रूपमा आउने गरेको भए पनि उनी टिमसित छलफलबाट अघि बढ्ने मनिस्थितमा छन् ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी अघि बढाएका छन् । कैलालीको टीकापुरबाट काँग्रेस नेता एवं प्रदेशसभा सदस्य डा रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेकमा छन् । उनले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश  (भूगोल) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

काँग्रेस कञ्चनपुरकी नेत्री एवं महिला सङ्घ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् । नेपाली काँग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहराले १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीमा पनि माथिल्लो तहमा यहाँका नेताले स्थान पाउने सम्भावना कम रहेको बताए ।