धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कालोपत्रे गर्ने ठेक्का भएको दुई बर्ष सम्म बनेन सडक

कालोपत्रे गर्ने ठेक्का भएको दुई बर्ष सम्म बनेन सडक

धनगढी । कैलालीको गोदावरी नगरपालिका४ मा सडक कालोपत्रे गर्ने ठेक्का भएको दुई बर्ष सम्म काम सम्पन्न नहुँदा आम नागरिकले सास्ती खेप्नु परेको छ ।

सडक निर्माण गर्ने ठेक्का पाएका ठेकदारको लावर्पाहीका कारण काम सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् । गोदावरी नगरपालिका४ बसन्तपुर टोलमा २०७६ माघ १० गते ४ महिना भित्र १ किलो मिटर सडक कालोपत्रे गरिसक्ने शर्त सहित कञ्चनपुरको आकाश पवन कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेक्का पाएको केहि समय काम गरेको कम्पनिले विचैमा काम छोडेको स्थानीय पुष्पराज भट्टले बताए । सडक कालोपत्रे गर्ने भन्दै काम सुरु गरेको ठेकदार कम्पनिले सडकमा मोटो फिलिङ गरेर छोडेको छ, उनले भने,‘माटोका कारण सडक झनै हिलाम्य बनेको छ, यस विषयमा नगरपालिका समेत मौन बसेको छ । सडक कालोपत्रे गर्नका लागि दुई बर्ष पहिले नै ठेक्का सम्झौता भए पनि अहिले सम्म काम पुरा नभएको उनले बताए ।

सडक कालोपत्रेका लागि मूल्य अभिबृद्धि कर सहित ४७ लाख ९५ हजारमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं १८ मा रहेको आकाश पवन कन्ट्रक्सनसंग सम्झौता गरिएको गोदावरी नगरपालिकाले जनाएको छ । लामो समय देखी सडक अलपत्र हुदाँ निकै समस्या खेप्नुपरिहेको उनले बताए ।

गुहेश्वरी मा.वि बसन्तपुरका प्रधानाध्यापक मान बहादुर खड्काले सडकको काम अधुरै छोडेर ठेकेदार बेपत्ता भएपछि स्थानीयलाई झनै समस्या भएको बताए । सडकमा परेका खाल्डा र हिलोका कारण दुर्घटनाको जोखिम बढेको उनको भनाई छ ।

गोदावरी नगरपालिकाका इन्ञिनीयर पूर्ण कुवंरले समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रमुख आशिष खत्रीलाई २२ पटक लिखित पत्र पठाएपनि अटेर गरेको बताए ।