धनगढी पोष्ट बिहिबार, १० माघ २०८१   January 23, 2025

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

धनगढी । विवेकशिल साझा पार्टीकी सचिवालय सदस्य रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । बिहीबार वक्तव्य जारी गर्दै रञ्जुले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको उल्लेख गरेकिछन् ।

उनले आगामि दिनमा सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति गर्ने वक्तव्यमा उल्लेख गरेकिछन् । सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।

विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छन् । उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गरेकी छन् ।

वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उतावचढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (जथउयअचष्कथ) पाएँ, उनले पत्रमा लेखेकी छन् ।

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् ।