धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गेटा विमानस्थल स्तरउन्नती गर्न एक अरव १५ करोड  विनियोजन

गेटा विमानस्थल स्तरउन्नती गर्न एक अरव १५ करोड  विनियोजन

धनगढी । धनगढी स्थित गेटा विमानस्थलको स्तरउन्नतीका लागि एक अरब १५ करोड विनियोजन गरिएको छ । विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न एक अर्ब र भौतिक संरचना निर्माणका लागि १५ करोड बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

नेपाल नागरिक उड्न प्राधिकरण मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको ३९२औं बैठकले गेटा सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको विमान स्थल स्तरउन्नतीका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।

बैठकले धनगढीमा क्षेत्रीय स्तरको विमानस्थल विस्तार तथा निर्माणकालागि नक्सा पारित गर्नुको साथै २ सय ५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

नक्सा र जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढी विमानस्थल स्तरोन्नतिको कार्य अगाडि बढ्ने जनाइएको छ । विमानस्थलमा क्यान्टिन निर्माण, गेट निर्माण, पार्किङ क्षेत्र, भिआइपी कोठा निर्माण र एक्सरे मेसिन थप्नका लागि बजेट विनियोजन गरिएको छ ।

बैठकलेसुदूरपश्चिम स्थित विभिन्न जिल्लामा रहेका विमानस्थल निर्माणका लागि थप ३२ करोड १० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ । निर्णय अनुसार डडेल्धुरामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि ५ करोड, दीपायल विमानस्थलको स्तरोन्नतिका लागि १८ करोड र साफेँ विमानस्थलको स्तरोन्नतिका लागि तीन करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरको मझगाउँ विमानस्लथका लागि २ करोड ५१ लाख, पाटन विमानस्थलका लागि एक करोड ५० लाख, गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख र बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार तथा बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।