धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

खलङ्गा र भारत विचको पुल सवा ७ बजे सम्म खुल्ने

खलङ्गा र भारत विचको पुल सवा ७ बजे सम्म खुल्ने

धनगढी । दार्चुला सदरमुकाम खलङ्ग र भारत जोड्ने महाँकाली नदीको पुल वेलुका सवा ७ बजेसम्म खुला रहने भएको छ । यस अघि पुल सवा ५ बजे पछि बन्द गरिदै आएकोमा मंगलबार देखि सवा ७ बजे सम्म खुला गर्ने निर्णय गरिएको हो ।

पुल खुला गर्ने समय बढाउन भारतीय पक्षले गरेको प्रस्ताव अनुसार वेलुका सवा ७ बजे सम्म पुल खुला राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

सो पुल व्यापारिक दृष्टिले महत्वपूर्ण मानिदै आएको छ । नेपाली नागरिक दैनिक उपभोग्य सामाग्री किन्न भारत जाने गर्दछन् भने, लत्ता कपडा किन्न भारतीय नागरिक सोही पुल भएर नेपाल आउने गर्दछन् ।

दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुल खुला रहने समय सीमा बढाइएको भए पनि दार्चुला जिल्लाका अन्य सीमा पुलहरु पुर्ववत् समयमै खुल्ने तथा बन्द हुने प्रमुख जिल्ला अधिकारी जोशीको बताए ।

ब्यास गाउँपालिका वडा नं ५ को तिग्रम पुल हाल विहान १० बजे देखि बेलुका सवा ५ बजे सम्म सञ्चालनमा हुने गरेको छ । विहान ढिलो गरि पुल खुल्दाँ सीमा क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा पुल विहान ७ बजे देखि खुला गर्न भारतको धार्चुला तहसिललाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

ब्यास गाउँपालिका क्षेत्रमा नेपालको बाटो भएर सदरमुकाम आवतजावत गर्न अप्ठ्यारो बाटो भएकाले त्यस क्षेत्रका बासिन्दा भारतको बाटो भएर आवतजावत गर्ने गरेका छन् । दार्चुला स्थित नेपाल भारत सीमा क्षेत्रमा ५ वटा पुल पर्दछन् ।