धनगढी पोष्ट
मङ्गलबार, २० पुष २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका तीन सदस्य चयनकालागि दलहरु उम्मेदवारको टुङ्गो लगाउन थालेका छन् । माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका हुन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले उम्मेदवारी दिने बताएका छन् ।
नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने राष्ट्रिय सभाको निर्वाचनका लागि समेत गठबन्धन गर्ने जनाएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले परिणाम जे–जेस्तो आए पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारको टुङ्गो लगाइसकेको बताए ।
नेकपा एमालेको तर्फबाट खुला सदस्यका लागि नेता डिल्लीराज भट्ट, महिलातर्फ सन्तोष शर्मा र दलिततर्फ नरेश विकको नाम तय गरेको हो । सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेस र एकीकृत समाजवादीले पनि उम्मेदवार टुंगो लगाएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभामा कैलालीका नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी काँग्रेसको प्रदेश सभापतिमा वीरबहादुर बलायरसंग पराजित भएका थिए ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशबाट पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा)लाई उम्मेदवार बनाउने जनाएको छ । शाह यसअघि २०७० सालको संविधानसभा सदस्य पनि हुन् । माओवादी केन्द्रले भने उम्मेदवारको नामावलीबारे अहलेसम्म आधिकारिक जानकारी दिएको छैन ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना राष्ट्रियसभा सदस्यको ४ वर्षे पदावधि फागुन २० गते सकिदै छ । पुस २० गते विहान १० देखि ३ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने र ४ वजे सूचि प्रकाशन गरिने छ ।
राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार माघ १२ गतेका लागि निर्वाचन तोकिएको हो । फागुन २० गते पदावधी सकिनेमा राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्ट रहेका छन् । तीनै सदस्यको २०७५ असार ४ मा गोलाप्रथा गर्दा कार्यकाल ४ वर्षमा परेको थियो ।