धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सुदूरपश्चिमका ६ जिल्लामा एमालेको नेतृत्व चयन

सुदूरपश्चिमका ६ जिल्लामा एमालेको नेतृत्व चयन

धनगढी । पुस २३ गते देखि सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेसन अन्तरगत सुदूरपश्चिमका ६ जील्लामा नेतृत्व चयन भएको छ । प्रदेशका ९ जिल्ला मध्य कञ्चनपुर र अछाममा निर्वाचन प्रक्रिया जारी छ भने, बझाङमा अधिवेसन सुरु भएको छैन ।

एमालले कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुलामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन भएका मध्य बैतडी, डडेल्धुरा, डोटी र बाजुरा जिल्लामा सहमतिमै नेतृत्व चयन भएको छ । कैलाली र दार्चुलामा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।

नयाँ नेतृत्व चयन भएका जिल्लाहरु मध्य कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् ।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उपसचिवमा ममता चौधरी र लोकेन्द्र बहादुर शाही विजयी भएका छन् । यसैगरी दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५ सय ८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्दी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।

यसैगरी एमाले दार्चुलाको सचिवमा शेरसिंह धामी विजयी भएका छन् भने, एमाले दार्चुलाको उपसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । एमाले दार्चुला अधिवेसनका लागि छनौट भएका ७ सय ७६ प्रतिनिधी मध्य ७ सय ७ जनाले मतदान गरेका थिए ।

यसैगरी नेकपा एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत चयन भएका छन् । पुस २३ गते भएको एमाले बाजुराको ८ औं अधिवेसनले ५ दिन पछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

एमाले बाजुरा जिल्ला कमिटिका अन्य पलाधिकारी पनि सर्व सम्मच चएन भएका छन् । एमाले बाजुराको उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा तथा उपसचिवमा हरीबहादुर रोकाया र जनक बोहरा चयन भएका छन् ।

यसैगरी नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अन्जु गैरे समेत सर्वसम्मत चयन भएका छन् ।

यसैगरी बैतडीमा पनि सुरेन्द्र पाल सर्वसम्मत अध्यक्ष चुनिएका छन् । आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका पाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमति गरेपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीका एक नेताले बताए । पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको उनले बताए ।