धनगढी पोष्ट
बिहिबार, २९ पुष २०७८ मा प्रकाशित
धनगढी । नेपालमा पछिल्लो १० दिनको अवधिमा कोरोना संक्रमण दर ९ गुण बढेको छ । १९ पुसमा देशभर पीसीआर र एन्टिजेन १२ हजार ४ सय ९८ परीक्षण भएकामा २८ पुसमा १३ हजार ३६ नमुनाको मात्र परीक्षण भएको छ । त्यतिबेला ३ सय २६ संक्रमित थिए भने १० दिनपछि संक्रमितको संख्या ३ हजार ७५ पुगेको छ । यस अवधिमा संक्रमण दर २ दशमलव ६० प्रतिशतबाट बढेर २३ दशमलव ५८ प्रतिशत पुगेको छ ।
विज्ञहरूले कोरोनाको नयाँ भेरिएन्टका कारण भित्रभित्रै संक्रमण समुदायस्तरमा फैलिसकेकाले परीक्षण संख्या नबढाउने हो भने संक्रमणले विस्फोटक रूप लिने दाबी गरेका छन् । ‘१० दिनमा दैनिक देखिने संक्रमण दर र संक्रमितको संख्या करिब तीव्र गतिमा बढे पनि परीक्षण उस्ताउस्तै देखिनु सही होइन,’ भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र भन्छन्, ‘तुरुन्त व्यापक रूपमा परीक्षण नबढाउँदा भित्रभित्रै सल्किरहेको संक्रमण एकैचोटि विस्फोट हुने जोखिम छ, त्यतिखेर परिस्थिति काबुबाहिर जान सक्छ ।’
तत्कालै गर्न सकिने एन्टिजेन परीक्षण पनि निकै सुस्त छ । पुस १९ मा २ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गरिएकामा पुस २८ मा ३ हजार ९८५ को मात्र परीक्षण गरिएको छ । यस अवधिमा संक्रमण दर १ दशमलव २२ प्रतिशतबाट बढेर १५ दशमलव ७ प्रतिशत पुगेको छ ।
विज्ञहरूका अनुसार ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको र त्यसले तेस्रो लहरको रूप लिइसकेको छ । संक्रमणलाई रोक्न प्रभावकारी रणनीति बनाउन ढिलाइ गर्न नहुने डा. मिश्र बताउँछन् । समाजमा यो भाइरस घातक स्तरसम्म फैलिसकेपछि यसलाई रोक्ने प्रयास गर्नुले कुनै फाइदा नहुने उनि बताउँछन् ।