धनगढी । भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ भएका व्यक्ति सीमाबाटै फरार हुन थालेका छन् । सीमा नाकामा गरिने एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरु विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परिक्षण केन्द्र गौरिफन्टाले जनाएको छ ।
‘धेरै कोरोना संक्रमित मोहना नदी तरेर नेपाल भाग्ने गरेका छन्,’ त्रिनगर स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसंग रिपोर्ट साँटेर पनि उम्कने गरेका पाइन्छन् ।’ ‘भाग्दै गरेका धेरैलाई समात्ने पनि गरिएको छ,’ उनले भने, ‘तर धेरै मानिस एकैपटक आउँदा हामी व्यस्त हुन्छौं, त्यही मौकामा उनिहरु भाग्न थाल्छन् ।’
कोरोना पोजेटिभ व्यक्ति भाग्न नपाउन भनेर सास्थ्य परिक्षण केन्द्रको पछाडी (पूर्व)पट्टी तार जाली लगाइएकोमा सो तारजाली काटेर धेरै जना मोहना हुँदै भाग्ने गरेको उनले बताए । त्यसै गरी केही व्यक्तिले कोरोनाको नेगेटिभ रिपोर्ट आएका अर्का व्यक्तिको रिपोर्ट देखाउँदै प्रहरीको आँखा छल्ने गरेको उनले बताए । ‘मोहना नदी तर्फ प्रहरी तैनाथ हुँदैन,’ उनले भने, ‘जस्का कारण धेरै कोरोना संक्रमित तार जालीबाट छिरेर मोहना नदी हुँदै नेपाल छिर्नेगरेका छन्, केहीले भने रिपोर्ट साट्दै प्रहरीको आँखा छलेर भाग्ने गरेका छन् ।’
उनका अनुसार पुस २९ गते ४० जना, पुस ३० गते ३० जना र आज (माघ १ गते) ३१ जना कोरोना संक्रमण पोजेटिभ भएका व्यक्ति सीमानाबाट भागेर नेपाल आएका छन् । ‘सीमामा गरिने एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिए आइसोलेसन सेन्टरमा लैजाने व्यवस्था नभएसम्म हामीले उनिहरुलाई नाकामै रहेको होल्डिङ सेन्टरमा रोकेर राख्ने गरेका छौं,’ संयोजक साउँदले भने, ‘उनिहरु होल्डिङ सेन्टरबाटै भाग्ने गरेका छन्, भाग्ने तरिका फरक,फरक रहेका देखिन्छन् ।’
यसबारेमा धनगढी उप–महानगरपालिका र पुनर्वास नगरपालिकालाई समेत जानकारी गराइ सकेको उनले बताए । यो समस्याका बारेमा सीमा संग जोडिएका दुई वटै स्थानीय निकामा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर कसैले पनि चासो देखाएका छैनन ।’