धनगढी पोष्ट
आइतबार, ०२ माघ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणदर हरेक दिन उच्च हुन थालेपनि नागरिक भने अझै सचेत हुन सकेका छैनन् ।
सुदूरपश्चिममा दैनिक २ सय बढी संक्रमित थपिने गरेका छन् । शनिबार मात्र सुदूरपश्चिम प्रदेशमा २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २२१ जनाको पीसीआर मार्फत र १ हजार २ सय ८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो र शनिबार जम्मा १ हजार ४ सय २९ जनाको परीक्षण हो ।
शनिबार संक्रमण पुष्टि भएका २ सय ८३ जनामध्ये १ सय २६ जना भारतबाट आएका नेपाली हुन् । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १ सय ३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५, जुलाघाटबाट फर्केका ४ जना र पुलघाट नाका भएर फर्केका ५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशका नाका भएर शनिबार १ हजार ३ सय ६६ नेपाली स्वदेश फर्केका छन् । स्थानीय प्रकाशसनले २५ जनाभन्दा बढी जम्मा हुने गरी भिडभाड नगर्न निर्देशन जारी गरे पनि त्यसको बेवास्ता हुने गरेको छ ।
कोरोना रोकथामका लागि भन्दै प्रशासनले जारी गरेको आदेश औपचारिकतामै सीमित भएका छन् । भिडभाडमा नजानु त परको कुरा, मास्कसमेत प्रयोग भएको देखिएन । प्रशासनले आदेश मात्रै दिनेगरेको मा त्यसको कार्यान्वयनका लागि कुनै कदम नचालिएको धनगढी –३ का दानबहादुर विष्टले बताए ।
‘जिल्ला प्रशासन कैलालीले कोभिड न्यूनीकरणका लागि आदेश जारी गरेको भोलिपल्ट नै विभिन्न स्थानमा मान्छे जम्मा गरेर राजनीतिक दलले कार्यक्रम गरेका छन् र त्यो क्रम अहिले पनि जारी छ,’ उनले भने, ‘ त्यस तर्फ प्रशासनको ध्यान गएको छैन, यसले समुदायमा झनै कोरोना संक्रमण बढाउने खतरा छ ।’ सुदूरपश्चिममा कोरोनाको पहिलो र दोस्रो कोरोना लहरमा ६ सय १४ जनाको मृत्यु भएको थियो ।