धनगढी पोष्ट
बिहिबार, ०६ माघ २०७८ मा प्रकाशित
धनगढी । यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिरम चरणमा पुगेको छ । निर्वाचन आयोगले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार पुस २६ गतेदेखि उम्मेदवारको हकमा निर्वाचन आचारसंहिता जारी छ । सुदूरपश्चिममा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशसभाको प्राङ्गणमा मतदानस्थल तोकिएको छ । मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकारी प्रेम भट्टले बताए । ‘तयारी अन्तिम चरणमा पुगेको छ, पर्सिसम्म काठमाडौंबाट मतपत्र आइपुग्नेछन्,’ भट्टले भने, ‘राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवारी परेको छ ।’
राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको तर्फ खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दिएका छन् ।
तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् ।
२० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।