धनगढी पोष्ट बिहिबार, १० माघ २०८१   January 23, 2025

स्थानीय चुनाव धकेल्न पाइँदैन : एमाले

स्थानीय चुनाव धकेल्न पाइँदैन : एमाले

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।

यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले भनेका छन्, ‘हाम्रो स्पष्ट अडान छ, यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए पनि सत्ता गठबन्धनबीच आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारे बहस हुँदै आएको छ ।

सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेको बेला एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । संविधानले स्थानीय तह रिक्तताको परिकल्पना नै नगरेको भन्दै एमालेले निर्वाचन आयोगले सिफारिस गरे अनुसारकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिंदै छ । स्थानीय तह जनप्रतिनिधिविहीन भए जनता सेवा सुविधाबाट बन्चित हुने भन्दै एमालेले कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थालाई स्मरणसमेत गराएको छ ।