धनगढी पोष्ट
मङ्गलबार, ११ माघ २०७८ मा प्रकाशित
धनगढी । यदि तपाईं कोरोना संक्रमण भएर ’होम आइसोलेसन’ मा बसिरहनुभएको छ भने तपाईंलाई कति दिन घरभित्रै बस्नुपर्छ भन्ने लाग्दो हो ।
त्यसमाथि अहिले आइसोलेसनमा पाँच दिन बसे पुग्छ भन्ने कुरा आइरहँदा यसले तपाईंलाई झन् अलमल बनाइरहेको होला । तर संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भने त्यसमा सहमत छैनन् । डाक्टर सुवेदीका अनुसार पाँच दिन आइसोलेसन बसेर पुग्दैन । किनभने पाँच दिनपछि पनि संक्रमित व्यक्तिबाट भाइरस अरूमा सर्नसक्ने उनी बताउँछन् ।
तर अहिले धेरै संक्रमितहरूले आफूलाई छिट्टै निको भएको महसुस गर्ने गरेका छन् । त्यसले गर्दा पनि कतिलाई आइसोलेसनमा पाँच दिन बसे पुग्ने भन्ने लागेको हुनसक्छ ।
यसबारे डाक्टर सुवेदीले केहीलाई पहिल्यै संक्रमण भइसकेकाले त्यसबाट बनेको रोग प्रतिरोधात्मक क्षमताका कारण ओमिक्रोन संक्रमण चाँडै हराएर गएको देखिएपनि पाँच दिन आइसोलेसन बसेर नपुग्ने बताए ।
हुन त केही देशहरूले ओमिक्रोन संक्रमणलाई लिएर आइसोलेसन अवधिलाई छोट्याएका पनि छन् । अमेरिकाले पाँच दिन आइसोलेसनमा बसे पुग्ने जनाएको छ । तर विश्व स्वास्थ्य संगठनले भने यसबारे कुनै आधिकारिक धारण बाहिर ल्याएको छैन । अमेरिकाकै कुरा उल्लेख गर्दै सुवेदीले त्यहाँ आइसोलेसन अवधिलाई पाँच दिनमा झारिए पनि सकेसम्म बाहिर निस्किँदा एन्टिजेन परीक्षण गर्न भनिएको बताए ।
सुवेदी पनि पुनः परीक्षण गर्दा एन्टिजेन नै उचित हुने बताउँछन् । किनभने एन्टिजेनले मरेको भाइरसलाई पोजेटिभ नदेखाउने उल्लेख पिसिआरले भाइरस जिउँदो छ कि मरेको भन्ने सरोकार नराख्ने बताए । ‘भाइरसको एउटा सानो टुक्रा भयो भने पनि पीसीआरले पोजेटिभ देखाउँछ,’ उनले भने, ‘तर एन्टिजेनले अरूलाई सर्न सक्ने भाइरस छ भने मात्र पोजेटिभ देखाउँछ ।’
डाक्टर सुवेदी कोरोना पोजेटिभ भएको कम्तीमा सात दिनपछि एन्टिजेन परीक्षण गर्दा उचित हुने बताए । त्यसरी एन्टिजेन परीक्षण गर्दा नेगेटिभ आएको खण्डमा संक्रमितले आफू निको भएको ठानी बाहिर निस्किन सक्ने उनले जनाए ।