धनगढी पोष्ट
बुधबार, १२ माघ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदान दिउसो ३ बजे सम्म सञ्चालन हुने निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि तीन जना छनौट हुनेछन् । तीन स्थानका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् । प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।