धनगढी पोष्ट
बुधबार, १२ माघ २०७८ मा प्रकाशित
धनगढी । भारतबाट आएका नागरिकको स्वास्थ्य परिक्षण गर्न गौरिफण्टा नाकामा खटिएका स्वास्थ्यर्की आफै कोरोना संक्रमित हुँदा खाने व्यवस्था समेत नभएर समस्यामा परेका छन् ।
सीमा नाकामा कामर्यरत स्वास्थ्यकर्मी मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्था समेत नहुँदा उनिहरु समास्यमा परेका छन् । ‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफण्टा नाका स्थित स्वास्थ्य विटका संयोजक गणेश साउँदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन् ।’
सीम नाकामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश स्थित सामाजिक विकास मन्त्रालय र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जानकारी गराइएको उनले बताए ।
सीमाको व्यवस्थापन गर्ने तीन वटै निकायलाई जानकारी गराइएको भएपनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए । ‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउँदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरु सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ ।’
साउँद आफैलाई समेत कोरोना संक्रमण भएको छ । तीन दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गर्दा आफैलाई कारोना पोजेटिभ देखिएको उनले बताए । कोरोना पोजेटिभ देखिएपनि नाकामा काम गर्ने जनशक्ति नहुँदा आरम गर्न नपाइएको उनले बताए । ‘पखाला चलेको छ, ज्वरो आएको छ, शरीरका जोर्नी दुखेर धेरै समस्या भइरहेको छ,’ उनले भने, ‘श्वास फेर्न पनि केही समस्या भइरहेको छ, तर पनि काम गर्न छोडेको छैन, वैकल्पिक जनशक्ति नभएका कारण बाध्य भएर काम गर्नु परेको छ ।’
उनले सामान्य अवस्थामा होटेलमा खाना खाने गरेको बताए । ‘तर संक्रमित भएपछि होलटमा जान मिलेन,’ उनले भने, ‘घर जाँदा पुरै परिवार जोखिममा पर्छन भन्ने डरले सीमाकै सुरक्षा भवनलाई आइसोलेसन बनाएर बसीरहेको छु, यता बस्न धेरै समस्या छ, नत खाने व्यवस्था छ, नत राम्रो बस्ने व्यवस्था नै ।’
पुनर्वास नगरपालिकाका मेयर जीवन राज थापाले भने सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बारेमा ढिलोगरी मात्रै जानकारी पाएको बताए । ‘उहाँहरुलाई दुई चार दिन अघिनै नै कोरोना संक्रमण भएको रहेछ,’ मेयर थापाले भने, ‘मैले मंगलबार मात्रै जानकारी पाए, अव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गछौं ।’
आफु राष्ट्रिय सभाको निर्वाचनका लागि धनगढी रहेको बताउँदै उनले फर्के पछि मात्रै उनिहरुको थप व्यवस्थापन गरिने बताए । तर कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीलाई फोन गरेर आवश्यक पर्ने सामाग्री खरिद गर्न भनिएको उनले बताए ।
‘तत्काल खानका लागि समस्या नहोस् भनेर नजिकैको पसलबाट सामान लगेर विल ल्याउन भनिएको छ,’ मेयर थापाले भने, ‘अन्य व्यवस्थापन भोलि गछौं, थप स्वास्थ्यकर्मी चाहिए हामी पठाउन तयार छौं ।’
मेयर थापाले स्वास्थ्यकर्मीलाई जोखिम मोलेर काम गर्न नदिइने बताए । हामीसंगै नगरमा अझै १९–२० जना स्वास्थ्य कर्मचारी छन्,’ मेयर थापाले भने, ‘उनिहरुलाई सीमामा खटाएर भएपनि त्यहाँ कार्यरत कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई आराम दिनइने छ, त्यसका लागि उहाँहरुसंग परामर्श हुने छ ।’