धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गेटा विमानस्थल स्तरोन्नतिका लागि ७ बुँदे सहमति

गेटा विमानस्थल स्तरोन्नतिका लागि ७ बुँदे सहमति

धनगढी । धनगढी विमानस्थल स्तरोन्नतिका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट र गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिबीच सात बुँदे सहमती भएको हो ।

विमानस्थल प्रमुख भट्टले आर्थिक वर्ष २०७८÷०७९ भित्र घरजग्गा अधिग्रहण तथा स्तरोन्नति लागि आवश्यक स्रोत सुनिश्चितता गर्ने लगायतका सहमति भएको बताए । घरजग्गा अधिग्रहण तथा स्तरोन्नति लागि आवश्यक स्रोत सुनिश्चितता भएपछि दुई वर्षभित्र मुआब्जा वितरणको व्यवस्था गर्ने पनि सहमति भएको छ, उनले भने, ‘अधिग्रहणमा पर्ने सबै व्यक्ति, परिवारका साथै भूमिहन, ऐलानी जग्गावाला र अन्य आशिंक रुपमा विस्थापित हुने व्यक्ति र परिवारको अध्ययन गरि मुआब्जाको वयवस्था गर्ने पनि सहमति भएको छ ।

उनका अनुसार अधिग्रहण गर्दा सम्बन्धित परिवार, टोल विकास समिति र समन्वय समितिका प्रतिनिधि अनिवार्य रुपमा राख्ने पनि सहमति पनि भएको छ । मुआब्जा निर्धारण गर्दा अधिग्रहण हुने क्षेत्रबाहेक नजिकको क्षेत्रमा हुनसक्ने बजार मुल्यसंग समायोजनको आकलन हुनेगरी र मुआब्जा वितरण हुनसक्ने ढिलाईका कारण परिवारले बेहोर्ने क्षतिलाई पनि मूल्याङ्कनको आधार मान्ने सहमति भएको छ ।