धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

वन क्षेत्रमा जेसीभी लगाएको भन्दै सडक निर्माणमा रोक

वन क्षेत्रमा जेसीभी लगाएको भन्दै सडक निर्माणमा रोक

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका९ चुरे क्षेत्र ताराकोटमा विपश्यना ध्यान केन्द्रका लागि शुरू गर्न लागिएको बाटो निर्माणमा मापदण्ड विपयिरत जेसिभी प्रयोग गरिएको भन्दै सडक निर्माणमा रोक लगाइएको छ ।

जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयको दबाबपछि बाटो निर्माण रोकेको हो। ध्यान केन्द्र बनाउन ताराकोटमा जेसीभी लगाएर बाटो निर्माण शुरू गरिएको थियो । स्थानीयका अनुसार ताराकोटसम्म ४ सय मिटर बाटो निर्माण गरिएको छ ।

जिल्ला वन डिभिजन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जेसीभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताए । कार्य योजनाविपरीत कार्य गरिएको पायौं, उनले भने, ‘अवैधरूपमा वन क्षेत्रमा गतिविधि गर्न नपाइने भएकाले बाटो निर्माणको कार्य रोकिएको छ । १५ हेक्टरको वन दर्ता गरिएपछि अहिले त्यस क्षेत्रमा ध्यान केन्द्र बनाउन थालिएको छ ।

स्थानीयले ध्यान केन्द्रका नाममा ताराकोटमा होटल रेस्टुराँ बनाउने नियत राखेर काम अघि बढाएको आशंका गरेका छन् । झिलमिला ताल नजिकको ताराकोट क्षेत्रबाट केही वर्षअघि मात्रै गोठ हटाइएका थिए । त्यसपछि त्यस क्षेत्रमा चुरे संरक्षण सञ्जाल र वन कार्यालयले वृक्षरोपण गरेका थिए । ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे लगायतले वन कर्मचारीसहित ताराकोट क्षेत्र निरीक्षण समेत गरेका छन् ।

वन कार्यालयले बाटो निर्माण बन्द गरेकाले तत्काल प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । वनले केही गर्ला, नगरे हामी गरौंला, उनले भने, ‘उता प्रक्रिया चलेका बेला केही गर्न पाइदैन । ब्रह्मदेव सबडिभिजन कार्यालयका प्रमुख प्रकाश जोशीले वन कार्यालयको अनुमति विना बाटो खनिएको बताए ।

सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको उनले बताए ।