धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कैलालीमा नेपाल भारत सीमा छुट्याउने ९ स्तम्भ हराए

कैलालीमा नेपाल भारत सीमा छुट्याउने ९ स्तम्भ हराए

धनगढी । कैलाली जिल्ला अन्तर्गत पर्ने नेपालभारत सीमा क्षेत्रमा रहेका ९ वटा सीमा स्तम्भ हराएका छन् । कर्णाली र मोहना नदीले सीमा क्षेत्रमा रहेका २ मुख्य र ७ सहायक गरी ९ वटा सीमा स्तम्भहरु बगाएका कारण स्तम्भ हराएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले कैलाली जिल्ला अन्तर्गत पर्ने सीमा स्तम्भहरुको अनुगमन गर्दा हराएको तथ्य बाहिर आएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली, नापी विभाग र सरोकारवाला निकायसँगको सहकार्यमा सशस्त्र प्रहरीले सीमा स्तम्भहरुको अवलोकन गरेको थियो ।

कैलाली जिल्लाले सुरक्षा गर्ने २ सय ८३ वटा सीमा स्तम्भमध्ये ९ वटा सीमा स्तम्भहरु नदीले बगाएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । नेपालभारत सीमाक्षेत्रमा मुख्य र सहायक गरी २ सय ८३ वटा सीमा स्तम्भमध्ये १ सय ८४ वटा सीमास्तम्भ सुरक्षित रहेको अनुगमनमा भेटिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक सिंहकाअनुसार २० वटा सीमा स्तम्भ सामान्य मर्मत गर्नुपर्ने, ३ वटा पुनर्निर्माण गर्नुपर्ने, ३२ वटा स्तम्भ फेला नै नपरेको र ३५ वटा सीमा स्तम्भहरु पानीमा डुबेको अबस्थामा भेटिएका छन् ।

नदीले बगाएका, मर्मत गर्नुपर्ने र हराएका सीमा स्तम्भका सम्बन्धमा नेपालभारतको संयुक्त निर्णयकाआधारमा काम थालिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । वर्षाको समयमा नदीमा आउने बाढी र नदीले फेर्ने धारका कारण सीमास्तम्भ बगाउने गरेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

कैलालीमा नेपालभारत सीमाक्षेत्र कैलालीको त्रिनगरदेखि टीकापुरको श्रीलंका टापुसम्म १ सय १ किलोमिटर रहेकोमा सो सीमा क्षेत्रमा १८ वटा सशस्त्र प्रहरी बल नेपालका बीओपी रहेका छन् ।