धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिमपातका कारण ठाउँठाउँमा सडक अबरुद्ध, यात्रुको विचल्ली

हिमपातका कारण ठाउँठाउँमा सडक अबरुद्ध, यात्रुको विचल्ली

धनगढी । बिहीबार देखि भइरहेको लगातारको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा पुर्णरुपमा अबरुद्ध बनेको छ । हिमपातका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग ठाउँठाउँमा अबरुद्ध बनेको छ । सडक अबरुद्ध हुँदा पहाडबाट तराई आइरहेका र तराईबाट पहाड तर्फ गइरहेका यात्रु बाटोमा अलपत्र परेका प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग (भीमदत्त राजमार्ग) डोटीको गैरा देखि पुर्ण रुपमा अबरुद्ध बनेको छ । भीमदत्त राजमार्ग अन्तरगत डोटीको गैरा, बुडर, डडेल्धुराको भातकाँडा लगायतका स्थानमा बाक्लो हिउँ जमेका कारण बिहीबार देखिनै यातायात पुर्णरुपमा अबरुद्ध बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकी प्रहरी हवल्दार हीरा उपाध्यायले बताइन् ।

अबरुद्ध स्थानमा सडक विभागको डोजर सहित प्रहरी सहतिको टोलीले हिमपात पञ्छाउने काम गरिरहेको छ, उनले भनिन्, तर हिमपात हुने क्रम जारी रहेका कारण जति हिँउ पञ्छाएपनि यातायात सुचारु हुन सकेका छैनन् ।

उनका अनुसार बैतडीको श्रीभावरमा पनि बाक्लो हिमपाल भएको छ । अछामको चौखुट्टे सडकखण्ड र बैतडी दार्चुला जोड्ने सतबाज गोकुलेस्वर सडक खण्डमा भने सवारी सुचारु भएका छन् । सो क्षेत्रमा हिमपात रोकिएको र डोजरले सडकको हिँउ पञ्छाएपछि यातायात सुचारु भएको उपाध्यायले बताइन् ।