धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कञ्चनपुरका युवक टर्कीमा वेपत्ता, हिमपातमा फसेको हुन सक्ने आसंका

कञ्चनपुरका युवक टर्कीमा वेपत्ता, हिमपातमा फसेको हुन सक्ने आसंका

धनगढी । कञ्चनपुरका एक युवा टर्कीमा सम्र्पकविहीन भएका छन् । वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर नगरपालिका२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएका हुन् ।

टर्कीको इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर ४ दिनदेखि अवस्थी सम्पर्कविहीन भएको उनका भिनाजु वीरेन्द्रराज जोशीले बताए । इस्तानबुलबाट ग्रिसतर्फ गएका उनीसँगैका साथीहरूले फोन गरेर उनी हिमपातमा फसेका छन् भन्ने जानकारी गराएका छन्, जोशीले भने, यसले परिवारमा चिन्ता बढाएको छ ।

अवस्थीका केही साथीहरु इस्तानबुल नै फर्किसकेको र उनी सम्पर्कविहीन रहेको बताइएको छ । अवस्थी दसैं अगाडि काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट टर्की गएका थिए । त्यसयता नियमित रूपमा परिवारको सम्पर्कमा थिए । मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।

टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो ।

मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरु कुन देशका हुन् भन्ने खुल्न सकेको छैन । बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।  कतिपय आप्रवासी जुत्ता÷चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका प्रतिनिधिले घटनामा नेपाली पनि परेको हुन सक्ने बताएका छन् । कञ्चनपुर घर भएका अवस्थी पनि यही ठाउँबाट सम्पर्कविहीन भएको बताइएको छ ।