धनगढी पोष्ट
शनिबार, २८ फागुन २०७८ मा प्रकाशित
धनगढी । धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज धनगढीमा हुदैंछ । पाँचौ संस्करणको उपाधिका लागि पूर्व च्याम्पीयन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवबीच भिडन्त हुनेछ ।
पहिलो संस्करणको च्याम्पीयन मनाङ दोस्रोपटक उपाधि जित्ने दाउमा रहेको छ । फेन्ड्स भने पहिलोपटक गोल्डकपमा सहभागी भएको हो । उसको पहिलो सहभागीतामा नै उपाधि जित्ने तयारी छ ।
मनाङका कप्तान अञ्जन बिष्टले फाइनलमा आफुलाई कुनै दबाव नभएको दावी गरेका छन् भने, फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले पनि उपाधीका लागि आफ्नो टीम तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए ।
ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो । खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो ।
प्रतियोगिता विजेता टीमले २१ लाख नगद प्राप्त गर्नेछ, भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।