धनगढी पोष्ट
सोमबार, ३० फागुन २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेशमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने दावी गरेका छन् । उनले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने समेत बताएका छन् ।
आगामी स्थानीय तहको निर्वाचन सन्दर्भमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियानका क्रममा आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिममा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको र कसैसंग गठबन्धन गरेर जानु आवश्यक नरहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ’ उनले भने, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन, कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्न पनि हाल्दैनन् ।’ उनले गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरुलाई पेलेको आरोप लगाए । ‘अव कार्यकर्ता देखि नेताहरु गाउँ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘सवैले निर्धक्क भएर कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गरे हुन्छ ।’