धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
धनगढी
योजना छनौटको आधा तयार नगरेरै डल्लो बजेट ल्याएको भन्दै गोदावरी नगरपालिकाको छैठौ नगरपरिषदमा नेपाली काँग्रेस समर्थित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । नीतिगत रुपमा स्पष्ट नभएर नै डल्लो बजेट छुट्याएर पछि आफु अनुकुल बितरण गर्न खोजिएको भन्दै उनीहरुले नगरपरिषदको बन्द शत्र बहिष्कार गरेका हुन् ।
नगरपरिषदको उद्घाटानपछि पहिलोपटक बिहीवार भएको नगरपरिषदको बन्दशत्रमा काँग्रेस समर्थित जनप्रतिनिधिहरु उपस्थित भएनन् ।
‘योजना छनौटको कुनै आधार बनाइएको छैन, ठ्लो बजेट योजना नछानेर नै डल्लो बनाएर राखिएको छ ।’ गोदावरी नगरपालिका कार्यपालिकाका सदस्य एवम वार्ड नम्बर ५ का अध्यक्ष बीर बहादुर चोखालले भने – ‘त्यसैले हामीले नगरपरिषद बहिष्कार गरेका छौं ।’
नगरपरिषद शुरु हुनु दुई दिन अघि नै मेयरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु सम्वोधन नभएसम्म परिषदमा सहभागी नहुने चोखालले बताए ।
नगरपरिषदको पहिलो दिन उद्घाटनशत्र सकिएपछि शुरु भएको बन्द शत्र पनि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए । यसअघि भएको नगर कार्यपालिकाको बैठक समेत काँग्रेसबाट निर्वाचित ५ सदस्यहरुले बहिष्कार गरेका थिए । बहिष्कारपछि बहुमतका आधारमा गोदावरी नगरपाकिाको नीति तथा कार्यक्रम कार्यपालिको बैठकले पारित गरेको थियो ।
परिषदमा स्पष्ट रुपमा कुरा नल्याउने तर पछि बजेट आफु अनुकुल बितरण गर्ने काम नहोस् भन्ने स्पष्टता खोजेर बन्द शत्र बहिष्कार गरेको नगर कार्यपालिका सदस्य चोखालले बताए ।
‘भुगोल, जनसंख्या र राजश्व संकलनको मापदण्डका आधारमा बजेट बितरणको स्पष्ट नीति बनाइनु पर्छ भन्ने हाम्रो माग हो’ कार्यपालिका सदस्य चोखालले भने ‘तर ती कुरामा हुन्छ हुन्छ भन्ने तर पेलेर अघि जान लागेपछि हामीले बहिष्कार गरेका हौं ।’
नगरपरिषदमा नया बर्षका बजेटको बारेमा मात्र छलफल गर्ने तर चालु आर्थिक बर्षका योजना निर्माण र तिनको कार्यान्वयनका बारेमा छलफल नै गर्न नचाहेका कारण पनि बहिष्कार गर्न बाध्य भएको चोखालले बताए ।
अहिले योजना निर्माणका स्पष्ट आधार तयार नपारेर आफु खुशी बितरण गर्न मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको योजना रहेकोले पनि बहिष्कार गरिएको चोखालले बताए ।
गोदावरी नगरपालिकाको पाँचौ नगरपारिषदमा आगामी आर्थक बर्ष २०७७।२०७८को ९८ करोको बजेट पेश गरिएको छ ।
६२ सदस्यीय नगरपरिषदमा काँग्रेसबाट निर्वाचित २९ सदस्य छन् ।