धनगढी पोष्ट
बिहिबार, ०३ चैत २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायरले तत्काल प्रदेश मन्त्रीपरिषदमा कांग्रेसको सहभागिता नभए कांग्रेस प्रतिपक्षमा बस्ने र आगामी गठबन्धनको सवै सम्भवाना सकिने बताएका छन् । उनले मुख्यमन्त्रीका लागि कांग्रेसले सुदूरपश्चिमममा भाग नमागेको भएपनि तत्काल मन्त्री परिषदमा भने भाग चाहिने बताए । गठबन्धन दलको सहमति अनुसार कांग्रेसले दुई प्रदेशको मुख्यमन्त्री पाइसकेको बताउादै बलायरले सुदूरपश्चिममा नेतृत्व नचाहिएको तर मन्त्री भने चाहिने बताए ।
‘केन्द्रदेखि प्रदेश सम्म गठबन्धन गर्ने निर्णय भएपनि सुदूरपश्चिममा कांग्रेसले अहिले सम्म केही पाएको छैन, सभापति बलायरले भने, ‘सरकारमा दुई दल मिलेको मनोमानी हुँदा कांग्रेस सरकारलाई समर्थन दिएर ठुलुटुलु हेरेर बस्न सक्दैन । हामीलाई मन्त्री नदिए तत्काल समर्थन फिर्ता गर्नेछौं । हामी प्रतिपक्षमा जानेछौं र आगामी गठबन्धनको औचित्य पनि त्यही समाप्त हुने छ ।’ उनले सरकामा जाने वा नजाने भन्ने विषय भने केन्द्रको भरमा रहेको बताए । ‘हाम्रो प्रष्ट धारणा हामीले केन्द्रलाई भनेका छौं,’ उनले भने कांग्रेसलाई आगामी दिनमा पनि संगै लैजाने वा अलग अलग जाने भन्ने टुङ्गो लगाउने जिम्मा केन्द्रीय नेतृत्वको भरमा छ ।’
गत फागुन ३० गते कैलाली पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि लग्ने सहमति भएको बताएका थिए । प्रचण्डको सो भनाई पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुने पक्का जस्तै होला भन्ने धारणा सर्वजनिक भए ।
तर कांग्रेसलाई भने अझैपनि प्रदेश सरकारको मन्त्रीपरिषदमा जाने वा नजाने भन्ने दुविधानै छ । ‘पार्टीले अझैपनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कस्लाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’
यत नेकपा एकिकृत समाजबादी पार्टीले पनि मन्त्रीपरिषद हेरफेर हुने अवस्था आएमा आफुहरुलेनै मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको छ ।
तर नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले भने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका थिए । ‘मुख्यमन्त्री परिवर्तनको कुरा नेकपा एसका नेता माधव कुमार नेपालले गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिलेको समिकरण अनुसार शत्तारुढ गठबन्धनका तीन दलले दुई,दुई वटा तथा जसपाले एउटा प्रदेशमा नेतृत्व गर्दै आएका छौं, सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुने विक्तिकै सवै प्रदेशमा समिरण फेरिने देखिएपछि यसबाट हामी पछि हटेका छौं ।’
उनले गण्डकी प्रदेशमा नेकपा माओबादी केन्द्र पहिलो पार्टी भएपनि नेतृत्व नलगेको स्मरण गर्दै सुदूरपश्चिमको हकमा नेकपा एस ठुलो दल भएपनि सहमति अनुसार जाँदा उसले नेतृत्व पाउन नसक्ने बताए ।