धनगढी पोष्ट
बुधबार, ०९ चैत २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थापना भएको करिव दुई बर्ष पछि पहिलोपटक विज्ञापन मार्फत कर्मचारी माग गरेको छ । स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो ।
आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
आयोगले जनरल फरेष्ट्री खुलातर्फ ९२ जना माग गरेको छ । यसैगरी २५ जना महिला, २० जना आदिवासी जनजाती, १६ जना मधेसी, ७ जना दलित, ४ जना अपाङ्ग, ३ जना पिछडिएको क्षेत्र गरी जम्मा १ सय ६७ पदका लागि विज्ञापन आह्वान गरिएको प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले बताए ।
आयोगले विभिन्न सेवाका क्षेत्रका लागि सहायक स्तर पाँचौ तहका प्राविधिक पदमा फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।
यसैगरी सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको कम्प्यूटर अधिकृत भण्डारीले बताए ।