धनगढी पोष्ट
आइतबार, २७ चैत २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम सरकारबाट फिर्ता बोलाउने निर्णयप्रति नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि उत्पन्न भएको छ । प्रदेशसँग सल्लाह नै नगरेर एकाएक सरकारबाट फिर्ता गराइएको भन्दै नेकपा एसका प्रदेश सभा सदस्यहरुअसन्तुष्ट बनेका हुन् ।
एकीकृत समाजबादीको सुदुरपश्चिम संसदिय दलकी प्रमुख सचेतक दुर्गा बिकले प्रदेश स्तरमा छलफल नगरी एक्कासी मन्त्री हेरफेर गरिंदा केही असन्तुष्टि देखिएको बताइन् । “कांग्रेसलाई स्थानीय तहको निर्वाचन पछि मात्रै सरकारमा ल्याउने विषयमा छलफल भइरहेको थियो ।” सचेतक विकले भनिन्, “तर एकाएक निर्णय हुँदा केही सदस्यमा असन्तुष्टि रहेको देखिन्छ ।”
केन्द्रमा नै काँग्रेस, नेकपा माओवादी र नेकपा एसका बीचमा सहमति भएपछि शुक्रवार सुदुरपश्चिम सरकारका २ मन्त्री र १ राज्यमन्त्री सहित काँग्रेसलाई सरकारमा सहभागी गराइएको थियो । सरकारमा काँग्रेसलाई सहभागी गराउन नेपाल एसले संसदिय दलका नेता तथा भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारी बाहेकका सबै मन्त्री -३ मन्त्री र ३ राज्यमन्त्री_ लाई राजीनामा गर्न लगाएको थियो । राजीनामापछि नेकपा एसले सोडारी बाहेकका सबै नयालाई सरकारमा पाठएको थियो । नेकपा एसका अहिले प्रदेश सरकारमा २ मन्त्री र २ राज्यमन्त्री छन् । यसअघि चार मन्त्री र ३ राज्यमन्त्री थिए ।
नेकपा एसको प्रदेश कार्यालयमा सबै मन्त्रीहरुलाई राजीनामा पत्रमा सही गर्न लगाउने क्रममा पनि मन्त्रीहरुले असन्तुष्टि पोखेका थिए । संसदिय दलकी प्रमुख सचेतक दुर्गा बिकले पार्टीमा देखिएको असन्तुष्टिलाई छलफलका माध्यमबाट निराकरण गर्दै अघि जाने बताइन् ।