धनगढी पोष्ट
शुक्रबार, ०९ बैशाख २०७९ मा प्रकाशित
धनगढी । डडेल्धुरामा शत्तारुढ दल वित चुनावि तालमेलका लागि गरिएका प्रयास असफल हुन थालेपछि दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा जुड्न थालेका छन् । पटक–पटक गरिएको छलफल निष्कर्ष बिहीन बनेपछि दलहरु विच चुनावि तालमेलको संभावना न्युन बन्न थालेको हो । शत्तारुढ गठन्धनमा आबद्ध दल मध्य डडेल्धुरामा कांग्रेस, माओबादी र एकिकृत समाजबादी पार्टीले तालमेतका लागि टलफल गरेका थिए । तर नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र भने आफ्नै बलबुतामा पनि चुनाव जित्न सकिने भन्दै आन्तरिक तयारीमा जुटेका हुन् ।
त्यसबाहेक केही स्थानीय तहमा एकले अर्कोलाई नछाडने परिस्थिति बनेपछि गठबन्धनको भबिष्य अन्यौलमा परेको छ । परशुराम नगरपालिकाको नेतृत्व कसले लिने भन्ने मुद्दा सबैभन्दा पेचिलो गरी उठेको छ । कांग्रेस र माओवादी दुवै पार्टीले यो पालिका नछाड्ने अडान लिएका छन् ।
यो नगरपालिका जिल्लाको सवैभन्दा वढी मतदाता भएको नगरपालिका हो । कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउद यहाँका मेयर छन् । उनी देउवाका सबैभन्दा ठूला र भरपर्दा विश्वासपात्र हुन् । यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठवन्धन नगर्ने निर्णयमा जिल्ला नेताहरु पुगेको बताइन्छ । गत स्थानीय तह निर्वाचनमा यो पालिकामा कांग्रेससँग माओवादी थोरै मतले हारेको थियो ।
परशुराम नगरपालिका २८ हजार भन्दा वढी मतदाता रहेका छन । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार साउदले माओवादीका शेरसिंह मालसंग २५१ मतले निर्वाचन जितेका थिए । संसदीय र प्रदेशको निर्वाचनलाई लक्षित गरेर यो नगरपालिका कांग्रेस र माओवादी दुवैले न छोडने अडान लिएका हुन । पहाडी क्षेत्रका ३ स्थानीय तह भन्दा वढी मतदाता परशुराम नगरपालिकामा छन् ।
‘परशुराम नगरपालिकाका कारण मात्र गठवन्धन भएन भन्नु गलत हो,’ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका साउदले भने, ‘वेग्लावेग्लै निर्वाचन लडेपनि जित्न सकिने आधार देखिएका कारण दलहरुले सर्वसम्मतिले गठवन्धन नगर्ने निर्णय गरेका हुन् ।’ अन्तिम सम्म गठवन्धनका लागि छलफल जारी राख्दै सौहाद्रपूर्ण रुपमा निर्वाचन लड्ने सहमति भएको पनि उनले वताए । संख्या बाडफाडमा पनि माओवादीले ३ र समाजवादीले २ सिटमा दाबी गरेको उनले वताए ।
‘गठवन्धनको सम्भावना नै रहेन,’ माओवादीका जिल्ला उपाध्यक्ष मानसिंह मालले भने, ‘सत्ता साझेदार दलहरुबीच सर्वसम्मति भएर बेग्लाबेग्लै निर्वाचन लड्ने निर्णय भइसकेको हो ।’ जिल्ला स्तरमा मात्र होइन् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि यस बिषयमा सल्लाह भएर नै गठवन्धन नगर्ने निर्णय गरिएको पनि मालले जानकारी दिए । उनले भने, ‘दुवै शीर्ष नेताहरुबीच फेरि पनि यस बिषयमा कुरा हुनसक्छ ।’
डडेलधुरामा कांग्रेस भित्र गत अधिवेशन देखि असन्तुष्ट रहेको एउटा समूहले पनि ७ वटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ । क्रियाशील सदस्यता विवादका कारण तत्कालीन सभापति कर्ण मल्लको समूहले अधिवेशन वहिष्कार गरेका थियो । उनीहरु नेपाली कांग्रेस (बिपी) बाट आफ्ना उम्मेदवार चुनावी मैदानमा पठाउने तयारी गरिरहेका छन् । ‘१० गतेसम्म पर्खिन्छौँ, टिकट वितरणमा बिभेद गरिए चुनाव चिन्ह् करुवा लिएर मेरै नेतृत्वमा हामी पनि चुनावमा होमिने छौं,’ मल्ले भने, ‘शनिबार सम्म त्यसको आधिकारिक निर्णय हुने छ ।’