धनगढी पोष्ट
आइतबार, ११ बैशाख २०७९ मा प्रकाशित
धनगढी । कैलालीको कमैयाँ वस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्त कमैयाँ वस्तीमा आगलागी भएको हो । आइतबार दिउँसो गहुँको नल जलाउन खेतमा लगाएको आगो हावा हुरीले उडाएर वस्तिमा पु¥याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार पुरै वस्तिमा आगलागी भएको छ र कम्तिमा ७२ घर जलेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट मानविय क्षेती नभएपनि भौतिक रुपमा भने ठुलो क्षेति भएको जोशीले बताए ।
आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरिगंगाको दमकल वस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकल समेत मगाइएको छ ।
आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षा टोली घटना स्थल गइरहेको छ ।