धनगढी पोष्ट
मङ्गलबार, २८ असार २०७९ मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरको एक विद्यालयको गेटमै नेकपा एमालेले आफ्नो नाम लेखेको भेटिएको छ । बेदकोट नगरपालिका–९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको छ ।
एमालेको वडा कमिटीले विद्यालयलाई गेट सहयोग गरेको थियो । तर, गेटमा पार्टीले आफ्नो नाम लेखेपछि आलोचना भएको हो । एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिले आलोचना गरिरहेका छन् ।
एमाले बेदकोट–९ को कमिटीले गेट शनिबार राखेको थियो । बिदाको दिन परेको हुँदा विद्यालय प्रशासनलाई पार्टीको नाम लेखिएको बारेमा जानकारी नभएको प्रधानाध्यापक मोहन जोशीले बताए । उनले त्यो त्रुटि भएको भन्दै पार्टीको नाम हटाएर ल्याउन निर्देशन दिएको जानकारी दिएका छन् ।