धनगढी पोष्ट
शुक्रबार, २७ साउन २०७९ मा प्रकाशित
धनगढी । तीज महोत्सवको अवसरमा धनगढीमा उर्जाशील उद्यमी मेला २०७९ शुक्रवार शुरु भएको छ । महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज र हेल्प प्रा.लि. ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् ।

सो अवसरमा सुदुरश्चिम प्रदशेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले सुदुपश्चिममा थुप्रै कला र संस्कृति भए पनि तिनको राम्रोसँग संरक्षण हुन नसकेको बताए । “कला र संस्कृतिले समाजलाई पनि अघि बढाउँछ ।” सामाजिक बिकास राज्यमन्त्री रैकाले भने “त्यसैले यसको संरक्षणमा कटिबद्ध भएर अघि बढ्न अहिले आवश्यक छ ।”

गाईको संरक्षणका लागि प्रदेश सरकारले पालिकाहरुलाई थुप्रै सहयोग गरेको भए पनि त्यसको उचित प्रयोग हुन नसकेको राज्यमन्त्री रैकाले बताए । पालिकाहरुले दुई चार टहरा मात्र बनाएर गाई संरक्षणको काम गरे जस्तो मात्र गरेको तर पुरा काम नगरेको राज्यमन्त्री रैकाले बताए ।
सुप हातेमालो समुहकी अध्यक्ष रश्मी शाहीले गाईको संरक्षणमा सबै जना मिलेर अघि बढ्नु पर्ने बताइन् ।
मेला संयोजक मेघा भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सँचालन सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु र आस्ना भण्डारीले गरेका थिए ।
धनगढी उपमहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोगमा भैरहेको मेलामा पहिलो दिन खुला नृत्य प्रतियोगिता, गायन, खानाका परिकार, स्वास्थ्य परिक्षण र सुपक गाइजात्रा प्रस्तुत गरिएका थिए ।
बुद्ध मन्दिरमा आयोजना भैरहेको मेला शनिबारसम्म सँचालन हुनेछ ।
धनगढी लेडी जेसिज बर्ष २०२२ की अध्यक्ष सरस्वती भट्टले महिलाहरुको क्षमता र सफलता बाहिर ल्याउन मेला आयोजना गरिएको बताइन् । ‘महिलाहरु धेरै क्षेत्रमा सफल छन्, महिलाहरुको प्रतिभा पनि धेरै क्षेत्रमा छ । तर त्यो बाहिर आइरहेको छैन ।’ अध्यक्ष भट्टले भनिन् ‘त्यसैले सफल महिलालाई समाजका सामु परिचित गराउन र नयाँको प्रतिभा सार्वजनिक गर्न मेला गर्न लागेका हौं ।’

लायन्स क्लब अफ धनगढी क्वीनकी अध्यक्ष रत्ना बिष्टले रमाइलोमा सीमित रहेको महिलाको प्रतिभालाई सार्वजनिक गर्न मेलाले पहल गरिरहेको बताइन् ।
उत्कृष्ठ काम गर्ने महिलाहरु सम्मानित
मेलामा सामाजिक र व्यावसायिक क्षेत्रमा उत्कृष्ठ काम गर्ने महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा धनगढी ३ की १ शय ४ बर्षीय भागीरथी भट्ट, कन्चनपुर महेन्द्रनगरकी गायिका संगीता शाह, रुपा राई, सिलाई कटाई व्यवसायी राधादेबी परियार, व्यवसायी पार्वती परियार, गाई संरक्षणमा जुटेकी रिता जोशी अवस्थी, कल्पना भट्ट, सुबनीदेवी चौधरी, पार्वती चौधरी र सुर्यमाया श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मानित गरेका हुन् ।