धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
धनगढीमा नीजि अस्पतालको वेथिती

केजी अस्पतालको दर्ता बिनै स्तरोन्नति

केजी अस्पतालको दर्ता बिनै स्तरोन्नति

धनगढी । धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेको केजी अस्पताल प्रालि कुनै पनि निकायमा दर्ता नगरी स्तरोन्नति स्वीकृति लिएको पाइएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा १५ शैय्यामा सञ्चालन गर्ने भन्दै भौतिक संरचना निर्माण गरेको केजिले अस्पताललाई कुनै पनि निकायमा दर्ता नगरेरै स्वास्थ्य कार्यालय कैलालीबाट स्तरोन्नति गरेको पाइएको हो ।

अस्पताल संचालन गर्नु अघि आवश्यक सामाग्री ल्याउँदा भन्सार छुट तथा आयातमा सहजता ल्याउन सो अस्पतालले संचालन दर्ताका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयमा निवेदन पेश गरेको थियो । 

धनगढी उपमहानगरपालिकामा २०७७ साल साउन २१ गते सो अस्पताललाई उपमहानगरपालिकाले अनुगमन तथा निरिक्षण गर्ने भन्दै १५ शैय्याको अस्पालका रुपमा अस्थायी अनुमति पत्र दिएको थियो । सोही पत्रलाई दर्ता गरिएको भन्दै अस्पतालले स्वास्थ्य कार्यालय कैलालीमा २०७८ साउनमा २५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नति अनुमति लिएको छ ।

आफनो जनस्वास्थ्य ऐन तयार नगरेको धनगढी उपमहानगरपालिकाले अस्पतालको अनुगमननै नगरी स्थानीय सरकार संचालन ऐनको दफा ११ को उपदफा ‘क’ को ‘ख’ बमोजिम पाँच वर्षका लागि अस्पताल संचालन गर्न स्वीकृति दिएको थियो । 

तत्कालिन नगर प्रमुख नृपबहादुर वडद्धारा हष्ताक्षरित सो पत्रमा भनिएको छ –‘अनुगमन तथा निरिक्षणको क्रममा निर्देशिकाको पालना नगरी कुनै किसिमको कमजोरी भएको पाइएमा आवश्यक कारबाही भैजाने व्यहोरा जानकारी गराईन्छ ।’ 

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा कार्यालयले उपलब्ध गराएको दर्ता तथा नविकरणका लागि आवेदन पेश गरेको विवरणमा सो अस्पतालको नाम छैन । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले धनगढीमा आठ  अस्पतालको नयाँ तथा नविकरण दर्ताका लागि आवेदन पेश भएको बताए । उनले भने –‘उपमहानगरपालिकामा पेश भएको निवेदनमध्ये तत्कालिन नगर प्रमुख वडको एकल निर्णयबाट धनगढी वडा नम्बर १ मा सञ्चालनमा रहेको सारथी अस्पताललाई सञ्चालन स्वीकृति दिइएको थियो । अन्य अस्पतालको कुनै पनि प्रक्रिया अघि बढेको छैन ।’

एक कर्मचारीका अनुसार तत्कालिन समयमा सो अस्पतालले स्थानको पनि टुङ्गो लगाएको थिएन । ‘सामान भन्सारमा अड्किएकाले सहजता ल्याउन उपमहानगरपालिकाले अस्थायी रुपमा कागजपत्र बनाएको थियो’ ती कर्मचारी भन्छन –‘भौतिक संरचना तयार भएपछि अस्पताल दर्ता प्रक्रियामा आएको छैन ।’ सो अस्पतालले धनगढी उपमहानगरपालिकाबाट दर्ता नगरी गत वर्ष स्वास्थ्य कार्यालयबाट स्तरोन्नतिका लागि अनुमति लिएको छ ।

सो बेला स्वास्थ्य कार्यालयले विरामी छनौट गर्नुपर्ने कक्ष बनाउनुपर्ने, फोहोरमैला व्यवस्थापनका लागि कलर कोड भएको बाल्टीको प्रयोग व्यवस्थित रुपले गर्नुपर्ने, बाल चिकित्सक क्लिनिक, इएनटी क्लिनिक, डेन्टल क्लिनिक, लाईब्रेरीको अविलम्बन व्यवस्थापन गर्नुपर्ने, बायोकेमिस्ट, प्याथोलोजिस्ट, इएनटी सर्जन, नेफ्रोलोजिस्ट, डेन्टल, काड्रियोलोजिस्ट, न्यूरोलोजिष्ट, अडियोलोजिष्ट, थेरापिष्टको व्यवस्थापन गर्नुपर्ने, नागरिक वडा पत्र बनाउनुपर्ने लगायतको सुझाव दिएको थियो ।

स्वास्थय कार्यालयले उपलब्ध गराएको स्तरोन्नति अनुमति पत्रमा भनिएको छ –‘सुझाव दिइएका क्रियाकलापमा अविलम्ब सुधार गरि सञ्चालनमा ल्याउने सर्तमा तथा प्रत्येक महिना ‘डिएचआईसी २’ प्रगति प्रतिवेदन ‘इन्ट्री’ गर्ने गरी एक वर्षका लागि अनुमति प्रदान गरिएको छ ।’

सो अस्पतालको नविकरण अवधि पुरा भएपनि अहिलेसम्म स्वास्थ्य कार्यालय कैलालीमा नविकरणका लागि निवेदन पेश गरेको छैन । स्वास्थ्य संचालन मापदण्ड विपरित स्तरोन्नित अनुमति पाएको सो अस्पतालले सुझाव हुवहु कार्यान्वयन गर्न सकेको छैन ।

मापदण्ड विपरित अस्पताल

स्वास्थ्य संस्था संचालन मापदण्ड पहिलो संशोधन २०७७ अनुसार अस्पतालको भौतिक एवं पुर्वाधारको मापदण्ड तोकिएपनि अस्पतालले सो मापदण्डको पूर्ण पालना गरेको छैन । 

अस्पतालको भवननै अपाङ्मैत्री छैन । अस्पताल सञ्चालन मापदण्ड अनुसार पार्किङको व्यवस्था गर्नुपर्ने, शब बाहन, एम्बुलेन्स, क्यान्टिन, फोहोरमैला व्यवस्थापन लगायतको पालना गर्नुपर्ने उल्लेख छ । सो मापदण्ड अनुसार अस्पतालले कुल क्षेत्रफलको जग्गाको २५ प्रतिशत सवारी साधनको पार्किङको लागि छुट्याउनुपर्ने मापदण्डमा उल्लेख छ । तर, सो अस्पतालका कर्मचारी तथा सेवाग्राहीहरुले सवारी साधन सडक छेउमै राख्नुपर्ने व्यवस्था रहेको छ । सञ्चालन अनुमति लिदा अस्पताल भवनको पछाडी पट्टी पार्किङ बनाउने भनेपनि अस्पतालले सेवा थप गर्न सो क्षेत्रमा भवन निर्माण गरिसकेको छ ।

अस्पतालले रक्तसञ्चारको व्यवस्था गर्नुपर्ने, तथ्यांक व्यवस्थापन गर्ने इकाई राख्नुपर्ने मापदण्डमा उल्लेख छ । सो अस्पताल मापदण्ड अनुसार पालना नगरि सञ्चालन भएपनि अहिलेसम्म सम्बन्धित निकायले अनुगमन गरेको छैन । ‘हामीले स्तरोन्नति अनुमति दिँदा अस्पतालको अनुगमन गरेका थियौं । सो बेला विशेषज्ञ सेवासहित थुप्रै कमिकमजोरी भेटिएको थियो । अहिले सो अस्पतालले सुझाव कार्यान्वयन गरे नगरेकोबारे हामीलाई थाहा छैन’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ।

अस्पतालले जनरल सर्जरी, स्त्री तथा प्रसुती सेवा, हाडजोर्नी, नसा, मनोरोग सम्वन्धि सेवा, जनरल मेडिसीयन लगायतका सेवाहरु हस्पिटलले प्रदान गरिरहेको अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डाक्टर दिपककुमार सिंहले बताए ।