धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

मन्त्री सोडारी भन्छनः ओलानीको विकास मैले नै गर्छु

मन्त्री सोडारी भन्छनः ओलानीको विकास मैले नै गर्छु

धनगढी । गोदावरी नगरपालिका– १० ओलानीमा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको बिहिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका छन् ।
पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए । उनले ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएको बताए । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।
मन्त्री सोडारीले विगतमा यो क्षेत्रबाट निर्वाचित भएका सांसदलाई जनताले प्रश्न गर्नुपर्ने बताए । उनले विगतमा यो क्षेत्रबाट चुनाव जितेर मन्त्री बने तर सधै उपेक्षित बनाएको आरोप लगाए । उनले मालाखेतीदेखि पल्टुडेसम्म सडकका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन भएको बताए । सो सडक स्त्तरोन्नतीका लागि आफूले सधै पहल गर्ने उनको भनाइ थियो । 
उद्घाटन गरिएको पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जयररोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो ।
कुल २६ दशमलव १ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाथ रहेको छ ।
सो कार्यक्रममा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाही, १२ का वडाध्यक्ष भीम खड्का, वडा नंं ११ का पुर्ब वडाध्यक्ष शिव विक समाजसेवी सहभागि रहेका थिए ।