धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

दललाई एकतावद्ध गर्न गठबन्धन जोगाउन आवश्यक छः साउद

दललाई एकतावद्ध गर्न गठबन्धन जोगाउन आवश्यक छः साउद

धनगढी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले सबै दललाई एकताबद्ध गर्न गठबन्धन गरिएको बताएका छन ।

शुक्रबार धनगढीमा आयोजित जनताको साथमा नेपाली काँग्रेस राष्ट्रिय अभियानअन्र्तगत विपि कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा आयोजित क्षेत्रीय भेलामा नेता साउदले देश विकास र संविधानको रक्षाका लागि गठबन्धन गरिएको बताएका हुन । उनले गठबन्धन बलियो भए मात्रै कांग्रेस पनि बलियो हुने बताए ।

‘गठबन्धन निर्वाचनलाई लक्षित गरेर बनेको होइन’ उनले भने –‘सबै राजनीतिक दलला एक ठाउँमा ल्याउन बनेको हो । नेपाली काँग्रेसले गठबन्धनको नेतृत्व गरेको मात्र हो ।’ 

उनले सबै दलको अस्तित्व कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए । ‘नेकपा माओवादी, एमालेबाट फुटि स्थापना भएको अर्को दल संगै स–साना दललाई समेटेर सबैलाई एक ढिक्का गर्न काँग्रेस लागिरहेको छ’ उनले भने । उनले गठबन्धन जोगाएर लैजान आवश्यक रहेको बताए । 

उनले निर्वाचनमा कैलालीमा काँग्रेस थप बलियो हुने बताए । उनले भने –‘कैलाली भनेको काँग्रेसको बाहुल्य रहेको क्षेत्र हो । यहाँ पार्टीभित्र रहेको मानिस र पार्टीलाई पनि न्याय हुनेछ । पार्टीले जित्ने उम्मेदवारनै छनौट गर्छ ।’

उनले काँग्रेस बलियो शक्ति भएपनि केही कमि कमजोरीका कारण देशभर कमजोर बन्ने गरेको बताए । ‘पहिलो कुरा त उम्मेदवार छनौट गर्दा कमजोरी हुन्छ । दोस्रो म र मेराले पाउनुपर्छ भन्ने जस्ता कुराले काँग्रेसले जित्ने चुनाव पनि हार्नुपरेको छ’ उनले भने –‘अबको निर्वाचनमा म, मेरा होइन योग्य र जित्ने व्यक्तिलाई उम्मेदवार बनाइने छ । काँग्रेस सबै एक भएर लागौं ।’ 

काँग्रेसको पहिलो चरणअन्र्तगत कैलाली क्षेत्र नम्बर १ बाट शुरु भएको सो अभियानको शुक्रबार कैलाली क्षेत्र नम्बर ५ मा क्षेत्रीय भेला आयोजना गरि समापन गरिएको थियो । कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य शुशिला मिश्र भट्ट, जीवन राना, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, प्रदेश समितिका कोषाध्यक्ष उत्तम कठायत, प्रदेश सदस्य डाक्टर मेराज आलम अन्सारी, रामबहादुर देउवा लगायतका महासमिति सदस्य, जिल्लाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

क्षेत्रीय उपसभापति सिताराम रानाले काँग्रेसभित्रको अन्र्तघात अन्त्य नभएसम्म बलियो मानिएको क्षेत्रमा पनि पराजय बेहोर्नुपर्ने अवस्था रहेको बताए । उनले कार्यक्रममा स्वागत गर्दै अबको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवालाई प्रतिनिधी सभामा विजयी गराउन आग्रह गरे । उनले भने –‘पाँच वर्ष कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुँदा विकासले गति लिन सकेन । यहाँका जनप्रतिनिधीहरुलाई पनि काम गर्न सहज वातावरण बनेन । अब प्रतिनिधी सभामा डाक्टर आरजुलाई जिताउन सबै लाग्नुपर्छ ।’

यसअघि विपी जन्मजयन्तीको अवसरमा नेता साउदले विपी कोइरालाको तस्बिरमा माल्र्यापरण गरेका थिए ।