धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीमा थपिदै डेंगुका विरामी

कैलालीमा थपिदै डेंगुका विरामी

धनगढी । कैलालीका दुर्गम गाउँपालिका मोहन्यालमा डेंगुका विरामी फेला परेका छन । १३ वटा स्थानीय तह रहेको कैलालीमा मंगलबार पहाडी गाउँपालिका रहेको मोहन्यालमा एक जना डेंगुको विरामी फेला परेका हुन ।

जिल्लाको चुरे गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा डेंगुका विरामीको जोखिम कायम रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार मोहन्यालका एक जनामा डेंगु देखिएसंगै  मंगलबारसम्म एक सय २४ जना डेंगुका विरामी पुगेका छन ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार सबैभन्दा बढी लम्की चुहा नगरपालिकामा ६६, घोडाघोडीका दुई, टीकापुर नगरपालिकामा एक, जानकी गाउँपालिकामा दुई, बर्दगोरियामा तीन जना डेंगुका विरामी फेला परेको छ ।

यस्तै, धनगढीमा संचालित माया मेट्रो अस्पतालमा तीन, सेती प्रादेशिक अस्पतालमा २१ जना, गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा सात, टीकापुर अस्पतालमा १३, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा चार, मसुरिया स्वास्थ्य चौकीमा एक जनामा डेंगुका विरामी फेला परेका छन ।

डेंगुकै कारण कैलालीमा दुई साता यता दुई जनाको मृत्यु भईसकेको बताए । उनले डेंगुको जोखिम क्षेत्र विरामीको दर हेर्दा लम्कीमा बढी रहेको छ भने मृत्युको दर हेर्दा धनगढी र टीकापुरमा जोखिम रहेको बताए । उनले भने –‘जोखिम क्षेत्रनै यकिन गर्न नसकिएकोले आम नागरिकले सरसफाई, पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने लगायतका गतिविधी गर्न आवश्यक रहेको छ ।’ उनले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।

डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।

एक्कासी उच्च ज्वरो आउने, ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ ।

यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भिर लक्षण हुन ।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फुल पार्छ । पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ ।  डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन् ।