धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भवन अभावमा सेतीमा सिटी स्क्यान मेशीन सँचालन हुन सकेन

सिटी स्क्यान मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष निर्माण नभएपछि मेसिन सञ्चालनमा ढिलाई भएको अस्पतालले जनाएको छ ।

भवन अभावमा सेतीमा सिटी स्क्यान मेशीन सँचालन हुन सकेन

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको सिटीस्क्यान मेसिन सञ्चालनमा आउन सकेको छैन ।

दुई हप्ता अघि मेसिन जडान गरि परिक्षण गरिए पनि अस्पतालले अहिलेसम्म मेसिन सञ्चालनमा ल्याउन नसकेको हो । सिटी स्क्यान मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष निर्माण नभएपछि मेसिन सञ्चालनमा ढिलाई भएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा बिरामी महंगीको मारमा पर्दै आएका छन् ।

प्रदेशका नौ जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा चर्को मूल्य तिरेर बिरामी निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ ।

खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुने सिटी स्क्यान मेसिन प्रादेशिक अस्पतालमा सञ्चालनमा नआउदा बिरामीहरु धनगढीकै निजी अस्पतालमा चेकजाँचका लागि पुग्ने गरेका छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो । सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो । 

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नु पर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो । पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि हालसम्म सञ्चालनमा आएको छैन ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले  सिटी स्क्यान सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । ‘यो महिनाको अन्तिमसम्म सञ्चालनको तयारी थियो । प्राविधिक कारण केही समय ढिलो भयो’ सूचना अधिकारी श्रेष्ठले भने, ‘भवन निर्माण एक वर्ष ढिलो भएकोले समयमै सञ्चालन हुन सकेन, अब छिट्टै सञ्चालन हुन्छ ।’ 

सूचना अधिकारी श्रेष्ठले भने, ‘अन्य केही कारण होइन्, भवन निर्माणमा ढिलाई भएकाले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई भएको हो ।’ 

सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असारमा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग सम्झैता भएको थियो । कर सहित एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, समयमा निर्माण कम्पनीले भवन निर्माण गर्न नसक्दा सेवा सूचारुमा ढिलाई भएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई गर्दा अस्पतालमा आउने बिरामीहरुले धनगढी भित्रका निजी तथा धनगढी बाहिरका कोहलपुर, काठमाडौं एवं भारतका विभिन्न स्थानमा गई महँगो शुल्कमा सेवा लिनुपर्ने बाध्यता रहेको छ । 

धनगढीका यी दुई अस्पतालमा उपचार गर्न जाँदा यहाँका सेवाग्राहीहरुले सिटी स्क्यानमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । निजी अस्पतालमा नर्मल सिटी स्क्यान गर्दा चार हजारदेखि चार हजार पाँच सयसम्म पर्छ, कन्टास सिटी स्क्यान गर्दा ११ हजारसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेको छ ।

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालको आन्तरिक व्यवस्थापनमा कमजोरी भएका कारण मेसिन सञ्चालनमा ढिलाई भएको बताए । ‘सिटी स्क्यान मेसिन हामी छिट्टै सञ्चालनमा ल्याउँछौं । अहिले भवनको मर्मत कार्य भइरहेकाले समस्या भएको हो’ अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले भने –‘मेसिन जडान गरिएको नवनिर्मित भवनमा चिकित्सक बस्ने कक्ष नभएकाले सञ्चालन हुन सकेको छैन ।’ उनले चिकित्सक बस्ने कक्ष, बिरामीलाई सहज आवतजावत गर्न मिल्ने अवस्था भएपछि मेसिनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याईने बताए ।

उनले मेसिनको परिक्षण गरेपछि सञ्चालनका लागि उपयुक्त भएको रिपोर्ट आइसकेको बताए । उनले भने –‘अहिले पनि हामी दैनिक एक÷दुई वटा अति आवश्यक भएका व्यक्तिहरुको मेसिनबाट परिक्षण गरिरहेका छौं ।’

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन भएमा विरामीहरुले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउने बताए । ‘अस्पताल सेवामुखी भएकाले यहाँ सेवा लिन आउने व्यक्तिले सर्वशुलभ र सहज रुपमा सेवा पाउने छन्’ उनले भने । प्रादेशिक अस्पतालमा तीन जना रेडियोलोजी रहेको अस्पतालले जनाएको छ ।