धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कैलालीमा बढ्दै डेंगुको जोखिम

थप आठ डेंगुका विरामी फेला

थप आठ डेंगुका विरामी फेला

धनगढी । कैलालीमा बुधबार थप आठ जना डेंगुका विरामी फेला परेका छन । कैलालीका पाँच वटा निजी स्वास्थ्य संस्थामा गरिएको परिक्षणमा थप आठ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

बुधबार कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल, नोभा अस्पताल र मिश्रा पोलिक्लिनिकमा एक÷एक जनामा डेंगुका विरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यस्तै, कामना प्याथोलोजि ल्याबमा दुई र नवजिवन अस्पतालमा तीन जना डेंगुका विरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेख छ ।

यो संगै कैलालीमा बुधबारसम्म डेंगुका विरामीको संख्या एक सय ३२ पुगेको छ । बुधबार माया मेट्रोमा थप एक जना डेंगुका विरामी देखापरेसंगै सो अस्पतालमा डेंगुको विरामीको संख्या चार पुगेको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार मोहन्यालका एक जना, लम्की चुहा नगरपालिकामा ६६, घोडाघोडीका दुई, टीकापुर नगरपालिकामा एक, जानकी गाउँपालिकामा दुई, बर्दगोरियामा तीन जना डेंगुका विरामी फेला परेको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा २१ जना, गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा सात, टीकापुर अस्पतालमा १३, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा चार, मसुरिया स्वास्थ्य चौकीमा एक जनामा डेंगुका विरामी फेला परेका छन । डेंगुकै कारण कैलालीमा दुई साता यता दुई जनाको मृत्यु भईसकेको छ । 

डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।

एक्कासी उच्च ज्वरो आउने, ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ ।

यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भिर लक्षण हुन ।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फुल पार्छ । पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ ।  डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन् ।