धनगढी पोष्ट
आइतबार, २२ भदौ २०८२ मा प्रकाशित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता एवम सुदुरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको काठमाण्डौमा तेश्रो पटक मृगौला प्रत्यारोपण भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गराएका सांसद चौधरी शनिबार अस्पतालबाट बाहिरिएका हुन् ।
सांसद चौधरीको यही भदौ ९ गते मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार प्रत्यारोपण गरिएको १२ औँ दिनमा चौधरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सुदुरपश्चिम प्रदेशका पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका चौधरीको तेश्रो पटक मृगौला प्रत्यारोपण भएको हो ।
टीकापुर नगरपालिका–५ कैलालीका चौधरी २०७९ को प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए ।
३ वर्षको उमेरमा पहिलो पटक मिर्गौला फेल भएपछि सन् २००९ मा चौधरीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । पखाला लाग्ने, लगायतका समस्याका कारण पहिलो पटक प्रत्यारोपण गरिएको मिगौला फेल भएको चौधरीले जानकारी दिए ।
त्यसपछि २०७२ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमै उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कोभिड–१९ संक्रमण, निमोनिया र फंगल संक्रमणका कारण दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला खराब भएको डा. पुकार चन्द्र श्रेष्ठको भनाइ छ ।
एकै व्यक्तिमा तेस्रो पटक गरिएको प्रत्यारोपण सफल भइसकेको छ’ डा. पुकार भन्छन् , ‘नेपालको प्रत्यारोपण सेवा विश्वस्तरीय छ भन्ने यो भन्दा गतिलो उदाहरण के हुनसक्छ र ?’
व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था विरलै हुने डा. श्रेष्ठले बताए ।
नेपालको सरकारी स्वास्थ्य संस्थामा तेस्रो पटक सफलतापुर्वक मिर्गाैला प्रत्यारोपण गराउनु पाउनु निकै खुसीको कुरा भएको प्रदेशसभा सदस्य चौधरीले बताए ।
आफूलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्रोत, साधन र जनशक्तिप्रति पूर्ण विश्वास रहेकाले नै तेस्रो पटक पनि यहीँ प्रत्यारोपण गराएको उनले सुनाए ।