धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

डाक्टर केसी अस्पताल भर्ना

डाक्टर केसी अस्पताल भर्ना

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित गिता सत्संग समितिको धर्मशाला भवनमा अनसनमा रहेका डाक्टर केसीलाई सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको हो ।

‘स्वास्थ्यमा समस्या आएपछि अनसनरत स्थानबाट अस्पतालमा सिफ्ट गरिएको छ’ डाक्टर केसीसंगै रहेका डाक्टर अमृत जैशीले भने –‘डाक्टरको स्वास्थ्य परिक्षणपछि अस्पतालको प्रसुति गृह पछाडी रहेको छुट्टै वार्डमा भर्ना गरिएको छ ।’ डाक्टर केसीलाई बोल्नमा समस्या भईरहेको, रक्तचाप घटेको तथा शरिर कमजोर भएको उनले जानकारी दिए । उनले चिकित्सकको सल्लाह बमोजिम नै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

बुधबार विहान उनको रगत र पिसाबको परीक्षण गरिएको थियो । सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।

डाक्टर केसीको अनसनमा बुधबार ६० जनाले समर्थन जनाएका छन् । उनले भने –‘चिकित्सक, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका यहाँका सर्वसाधारणले उनको अनसनमा समर्थन गर्ने बढेका छन ।’ उनले दैनिकजसो उनको स्वास्थ्य अवस्था बुझ्न आम सर्वसाधारणहरु अनसनस्थलमा आईरहेको बताए ।

डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग राखेका छन् । 

त्यस्तै, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

प्राध्यापक डाक्टर गोविन्द केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित प्रमुख माग लिएर आमरण अनसनमा छन् । डा केसीले आफ्ना सात बुँदे मागको पहिलो नम्बरमा स्वास्थ्य सेवा सुधारका लागि विभिन्न छ वटा विषय उठाएका छन् ।

पहिलो नम्बरसहित डा केसीले उठाएका सात बुँदे मागमा ६ वटा माग स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष जोडिएको छ भने सात नम्बर बुँदाको माग पनि अप्रत्यक्ष रुपमा स्वास्थ्यसँग जोडिएको छ ।

मन्त्री र राज्यमन्त्री मौन

सरकारी स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्दै गुणस्तरीय सेवा बढाउने लगायतका माग राखेर डाक्टर केसी अनसनमा बसेको तीन दिन भइसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी मौन छन् ।

कर्मचारी सरुवा र बढुवा तथा खरिदका विषयमा सञ्चारमाध्यममा समाचार आएको केही घण्टाभित्रै कर्मचारीलाई पत्र काट्दै स्पष्टीकरणका लागि बोलाउने मन्त्री तथा राज्यमन्त्री डाक्टर केसी अनसनमा बसेको तीन दिनसम्म पनि प्रतिक्रिया बिहिन छन् ।

स्वास्थ्य मन्त्रालयले नै उठाउनु पर्ने विषयलाई डाक्टर केसीले महत्वका साथ उठाउँदा मन्त्री र राज्यमन्त्रीले तत्कालै ती विषयमा चासो दिएर काम अगाडि बढाउनु पर्ने बताउँछन् स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु । भन्छन– ‘मन्त्री र राज्यमन्त्रीले त यसमा झन् डाक्टर केसीलाई स्याबासी दिएर छिटो भन्दा छिटो काम अगाडि साथ दिनु पर्ने थियो । तर हाम्रा मन्त्री र राज्यमन्त्रीलाई स्वास्थ्य क्षेत्र सुधार गर्नुनै छैन । उहाँहरुलाई त सरुवा बढुवा अनि खरिदमा मात्र चासो छ ।’

स्वास्थ्यमन्त्री निकट एक कर्मचारी त डाक्टर केसी किन र के कारणले अनसन बसेको विषयमा समेत मन्त्रीलाई जानकारी नभएको बताउँछन् । ‘उहाँ (डाक्टर केसी) मन्त्रीसँग सल्लाह गरेर अनसन बस्न गएको होइन् । कहाँ बस्नु भएको छ । किन बस्नु भएको हो । त्यो हामीलाई थाहा छैन । उहाँका विषयमा केही कुरा पनि भएको छैन,’ ती कर्मचारीले भने ।

राज्यमन्त्री केसीले पनि यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उपकरण खरिदमा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि तत्कालै प्रशासनिक अधिकार खोस्दै कर्मचारीलाई आफ्नै लेटरप्याडमा स्पष्टीकरण पत्र काट्न हतारिएका राज्यमन्त्री स्वास्थ्य क्षेत्र सुधारका मागका विषयमा भने मौन छन् ।