धनगढी पोष्ट
बिहिबार, ३० भदौ २०७९ मा प्रकाशित
धनगढी । कैलालीको अत्तरियामा बुधबार नमस्ते गाउँपालिकाको गाउ सभा सँचालन भैरहेको थियो । सभा अध्यक्षको भुमिकामा सभा सँचालन गरिरहेका थिए डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा । सभाको सदस्यको रुपमा सुदुरपश्चिमका १२ गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु भाग लगिरहेका थिए । मंगलबार र बुधवार उनीहरुले पटक पटक गाउ सभा सँचालन गरे, बिभिन्न प्रस्ताव पेश गरे र बहुमतका आधारमा पारित पनि गरे ।
सुदुरपश्चिमको गाउपालिकाको गाउँसभा नभएर गत बैशाखमा भएको निर्वाचनबाट स्थानीय सरकारको नेतृत्वमा आएका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई गाउँ सभा सँचालनको प्रकृया बुझाउन गरिएको नमुना अभ्यास थियो । ‘गाउँ सभा र नगर सभा प्रदेश सभा र संघीय सभा जस्तै सभा हो ।’ गाउपालिका महासँघ सुदुरपश्चिम समितिका अध्यक्ष समेत रहेका ओझा भन्छन् ‘त्यसैले गाउँ सभा सँचालनको प्रकृया नया जनप्रतिनिधिलाई बुझाउन नमुना अभ्यास गरिएको हो ।’
गाउँपालिका महासँघले आयोजना गरेको गाउँसभा सँचालन र कानुन निर्माण प्रकृया सम्वन्धी सिकाई अभ्यास कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँसभा सँचालनको अभ्यास गरेका हुन् ।
गाउ सभा प्रदेश सभा र संघिय संसद जस्तै सभा भएकोले सबै संसदिय अभ्यास गाउँ सभा र नगर सभामा पनि कार्यान्वयन गर्न आवश्यक रहेको सुदुरपश्चिम प्रदेश सभाका अधिकृत युवराज जोशी बताउँछन् । गाउँ सभा आचार कानुन, आचार संहिता, विधिका साथै संसदिय अभ्यासबाट सँचालन हुने बताउँदै जोशीले भने ‘गाउँ सभाका सबै सदस्यहरुको भुमिका सभा सँचालनमा महत्वपुर्ण हुन्छ ।’
सुदुरपश्चिम प्रदेश सभाका अधिकृत युवराज जैशी, अधिवक्ता झंकर कुवर र माया चौधरीले दुई दिन गाउँ सभा सँचालनका लागि भएका कानुनी व्यवस्था, संसदिय अभ्यासका बारेमा सहभागीहरुलाई अभ्यास गराएका थिए ।
जानकी गाउपालिकाका अध्यक्ष गणेश चौधरी गाउँ सभा सँचालनका बारेमा केही कुरा जनप्रतिनिधिले र कतिपय कुरा कर्मचारीले नबुझ्दा समस्या आइरहेको बताउँदै सिकाई अभ्यासले बुझाईमा स्पष्टता ल्याएको बताउँछन् ।
गाउँसभा राम्रोसँग सँचालन गर्न गाउँ सभाका सबै सदस्यहरुलाई पनि सिकाउन आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी नहुदा गाउँ सभामा राम्रो प्रकृया पुरा नगरिएको बताउँदै अब व्यवहारमा लागु गर्न सहज हुने बताए ।
गाउँपालिका र नगरपालिकाको पाँच बर्षे कार्यकाल सकिएर दोश्रो नेतृत्व आइसके पनि अधिकाँश गाउपालिकाहरुले गाउँ सभाको कानुनले गरेको व्यवस्था अनुसार अभ्यास गर्न सकेका छैनन् । अहिले पनि धेरै जसो पालिकामा प्रकृयागत रुपमा प्रस्ताव पेश गर्ने, छलफल गर्ने र पारित गर्ने काम हुन सकेका छैनन् ।
गाउँपालिका महासँघ सुदुरपश्चिम प्रदेश समन्वय अधिकारी नवराज उपाध्यायले प्रदेश र संघीय सभा जस्तै गाउ सभा चलाउने बिधि र प्रकृया बुझाउन कार्यशाला सँचान गरिएको बताए । कार्यशालामा कैलालीका ६, कन्चनपुरका २, डडेल्धुराका २ र डोटीका एक गरि १२ गाउपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।
गाउँपालिका महासँघले यसअघि डडेल्धुरामा बझाङका चार, बैतडीका २, बाजुराका ४ र अछामका ४ पालिकाका लागि समेत सिकाइ अभ्यास कार्यशाला सँचालन गरेको थियो ।