धनगढी पोष्ट
शुक्रबार, ३१ भदौ २०७९ मा प्रकाशित
धनगढी । विश्वकर्मा पूजाका अवसरमा मेटल व्यवसायी संघ कैलालीले रक्तदान कार्यक्रम गरेको छ ।
शुक्रबार धनगढी चौराहमा गरिएको रक्तदानमा ४६ जनाले रगत दान गरेको कैलाली मेटल व्यवसायी संघका अध्यक्ष शिद्धार्थ बिकले बताए ।
विश्वकर्मा पूजाको अवसरमा मेटल व्यवसायी संघले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । तर कोरोना संक्रमणका कारण दुई बर्ष भने कार्यक्रम सञ्चालन गर्न नसकिएको अध्यक्ष विकले बताए ।
विश्वकर्मा पूजामा फलाम तथा भाँडा वर्तनको पूजा हुने गरेको र मेटल व्यवसाय फलामकै क्षेत्र संग सम्बन्धीत भएका कारण पूजाको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिंदै आएको उनले बताए ।
उनले मेटल व्यवसायीलाई सरकारले वेवास्ता गरेको दुःखेसो गरे । ‘व्यवसायीले सरकारलाई कर तिर्दै आएका छन्’ अध्यक्ष विकले भने, ‘कर छली गर्ने काम पनि गरेका छैनौं, तर सरकारले हामीलाई अहिलेसम्म कुनै सहयोग गरेको छैन ।’ कोरोना संक्रमणका वेला सरकारले अन्य व्यवसायीलाई कुनै न कुनै रुपमा समेटेको भएपनि मेटल व्यवसायीलाई भने नसम्झेको उनले बताए ।
‘कोरोना संक्रमणका बेला संकटमा परेका मेटल व्यवसायीलाई मेटल व्यवसायी संघले कुनै न कुनै रुपमा सहयोग गरेको छ,’ उनले भने, ‘तर सरकारबाट कुनै सहयोग पाएका छैनौं, कोरोनाका कारण व्यापार बन्द हुँदा स्थानीय तहले लगाएको कर तिर्न नसकेर धेरै व्यवसायी पलायन भइसकेका छन् ।’