धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

अनसनरत डा केसीको जीवन रक्षा गर्न रेजीडेन्ट्स डक्टर्सको माग

अनसनरत डा केसीको जीवन रक्षा गर्न रेजीडेन्ट्स डक्टर्सको माग

धनगढी । धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीको माग तत्काल पुरा गर्न रेजीडेन्ट्स डक्टर्सले सरकारसँग माग गरेका छन्। 

६ दिनदेखि अनसनरत डा केसीले उठाएका मागहरु तत्काल पुरा गर्न उनीहरुले माग गरेका हुन्। नेशनल रेजीडेन्ट डक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेजीडेन्ट एशोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजीडेन्ट वेलफियर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले संयुक्त रुपमा विज्ञप्ति जारी गरी डा केसीको माग पुरा गर्न ध्यानाकर्षण गराएका छन्। 

तत्काल वार्ता गरी डाक्टर केसीको जीवन रक्षा गर्न उनीहरुको माग छ। डाक्टर केसीको मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी रुपमा आफ्नो ड्युटीबाट अलग भई आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ। 

विज्ञप्तिमा भनिएको छ, ‘६ दिन बितिसक्दा समेत कानमा तेल र आँखामा पट्टी बाँधेर बस्ने सरकारको रबैया प्रति आवासीय चिकित्सकहरुको देशव्यापी रहेका सम्पूर्ण संगठनहरुको तर्फबाट घो निन्दा प्रकट गर्दछौँ। तत्काल वार्ता गरी उहाँका सम्पूर्ण मागहरु पुरा गर्दै डा केसीको जीवन रक्षाको समेत माग गर्दछौँ। हाम्रो यो सरोकार र मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी आफ्नो ड्युटीबाट समेत अलग भई आन्दोलनमा होमिने चेतावनी दिन चाहन्छौ।’

डाक्टर केसीको माग र जीवन रक्षाका लागि पहल गरिदिन उनीहरुले नेपाल चिकित्सक संघलाई आग्रह समेत गरेका छन्।