महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक

महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक

धनगढी । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको सफल शल्यक्रिया एकै पटक गरिएको छ। 

भिमदत्त नगरपालिकाकी एक ५४ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक गरिएको हो। ती महिलाको शल्यक्रिया भदौ २२ गते भएको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई शनिबार डिस्चार्ज गरिएको अस्पतालका कन्सल्टेण्ट सर्जन डाक्टर जनार्दन प्रसाद जोशीले बताए। 

उनले भने, ‘उहाँ भदौ २१ गते पेट दुख्ने समस्या लिएर अस्पताल आउनु भएको थियो। भिडियो एक्सरे गरेपनि हामीले पित्तथैलीमा पत्थरी र एपेन्डीसाइटिसको समस्या देखिएपछि हामीले एकै पटक उहाँको शल्यक्रिया गरेका हौँ।’

डाक्टर जोशीका अनुसार महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको यो पटक हो। डाक्टर जोशीको नेतृत्वमा भएको शल्यक्रिया सकिन चार घण्टा लागेको थियो। 

‘यहाँ एपेन्डीसाइटिसको अपरेशन पहिले पनि हुन्थ्यो। तर पित्तथैलीको पत्थरीको र यी दुई वटा अपरेशन एकै साथ भएको पहिलो पटक हो’ उनले भने।

डाक्टर जोशी सहित उक्त शल्यक्रियामा एनेस्थेसियाका डाक्टर जेम्स थापा मगर र डाक्टर भावना भट्ट, एमडीजिपी डाक्टर अर्जुन भट्ट, भावना पाठक, प्रकाश अवस्थी र नर्स मञ्जु कुँवर संलग्न थिए।