धनगढी पोष्ट
आइतबार, ०२ असोज २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस उत्साहका साथ मनाउने तयारी गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको मुल समारोह समितिले आज (आईतबार), भोली (सोमबार) र मंगलबार गरि तीन दिन दिवस भव्यताका साथ मनाउन लागेको हो ।
मुल समारोह समितिले तीन दिन दिवसलाई दिपावलीका रुपमा मनाउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए । प्रदेश सरकारले असोज २, ३ र ४ गते घर–घरमा दिपावली गर्न आग्रह समेत गरेको उनले जानकारी दिए ।
असोज २ गते सबै मन्त्रालय र सरकारी कार्यालयमा राष्ट्रिय झण्डा, ब्यानर राख्ने, सरसफाइ गर्ने निर्णय गरेको उनले बताए ।
यसैगरी, संविधान जारी भएको दिन असोज ३ गते विहान धनगढीमा प्रभातफेरि गर्ने, प्रदेश प्रमुखलाई सलामी अर्पण गर्ने, मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम धनगढी दशरथ रंगशालामा गरिने छ । यस्तै असोज चार गते वृक्षारोपण गर्ने जनाइएको छ ।
संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई–तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइएता पनि गणक पूरक संख्या पुराएर यो संविधान दुइ तिहाई (नब्बे प्रतिशतभन्दा बढीको) बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।
संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । तराईको जिल्लाहरुमा कालोदिन भनि विरोध भएतापनि संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।